
काठमाडौं । विदेशी मुद्रा सञ्चितीमा झन दबाव देखिएको छ । सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई लगाउँदा पनि केही सुधार देखिएको छैन । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति घटेको देखिएको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति १९ करोड अमेरिकी डलरले घटेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ९ अर्ब ३५ करोड डलरमा झरेको छ ।
नेपाली मुद्रामा यस्तो सञ्चिति असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा भदौ मसान्तमा २.२ प्रतिशतले कमी भई ११ खर्ब ८९ अर्ब १६ करोडमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले केही वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा गत आर्थिक वर्षको तुलनामा आयात घटेको पाइएको हो । सरकारले यती गर्दा समेत विदेशी मुद्राको सञ्चिति निरन्तर ओरालो लागिरहेको छ ।
यता रेमिट्यान्स भने बढेको देखिएको छ । गत आर्थिक वर्षको २ महिनाको तुलनामा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । नेपाली रुपैयाँमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ । यस अवधिमा आयात घटेको छ भने व्यापार घाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोडमा झरेको छ ।