
काठमाडौं । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। तर लाभांशको सिजन सुरु भइसकेको अवस्थामा पनि सेयरमा बजार अघिल्ला वर्षहरुमा झैँ उत्साह देखिएको छैन। लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले गत वर्षभन्दा व्यापारमा सुधार गरेपनि लाभांशदर घटाइरहेका छन्। जसले गर्दा लाभांशकै समयमा पनि बजारले नकारात्मक प्रतिक्रिया दिइरहेको जानकारहरु बताउँछन्।
बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ बिन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ भने ०.०९ अंकले बढेको छ। सेयरमा सामान्य अंकको गिरावट आएपनि बुधबारको तुलनामा कारोबार रकम निकै घटको छ। बिहीबार दिनभरको कारोबार अवधिमा दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख बराबरको कारोबार भएको छ। बुधबार नेप्से दोहोरो अंकले घटेपनि ६३ करोडमाथिको कारोबार भएको थियो।
दोस्रो बजारमा सूचीकृत भएर कारोबारमा आएको १३ औँ दिन अभियान लघुवित्तको सेयर मूल्य ५८.६० अंकको गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार लघुवित्तको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरै घटेको हो। यस अघि कारोबारमा आएको १२ दिनसम्म कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आइरहेको थियो।
तर मूल्यमा गिरावट आएपनि कारोबारका आधारमा अभियान लघुवित्त अग्र स्थानमा छ। यसको ३ करोड ६९ लाख बढीको खरीद बिक्री भएको हो। यस्तै गरिमा बिकास बैंकको पनि २ करोड बढीको कारोबार भएको छ।
यस्तै तीनदिन अघि कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयर मूल्य बिहीबार ९.९७ प्रतिशतले बढको छ । भने विशाल बजार, विन्द्यवासिनी हाइड्रोपावरको सेयर मूल्य करिब ४ प्रतिशतले बढेको हो।
साथै बुधबार २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको सोल्टी होटल लिमिटेडको सेयर मूल्य बिहीबार घटेको छ। बुधबार लाभांशको घोषणाको हल्लाले कम्पनी सेयर मूल्य करीब ५ प्रतिशत बढेको थियो। तर सामान्य सेयर मूल्य सामान्य बढ्नसाथ सेयर बिक्री गर्ने सट टर्म बिक्रेताको हाबी भएसंगै सेयर मूल्य बुधबारको तुलनामा १.४१ प्रतिशतले घटेको हो।