
काठमाडौं । वाणिज्य बैंकहरूले दशैँअघि १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । वाणिज्य बैंकहरूले साउन १ देखि असोज १४ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदा राष्ट्र बैंकबाट बैंकहरूले यस्तो सुविधा लिने गरेका छन् ।
एक हजार एक सय ५९ कारोबारबाट बैंकहरूले उक्त रकम एसएलएफ सुविधाबापत लिएका हुन् । असोज १४ गते ७१ अर्ब चार करोड ७० लाख रुपैयाँ एसएलएफ लिएका थिए । केन्द्रीय बैंकका अनुसार साउन १ यता बैंकहरूले सबैभन्दा बढी यो सुविधा लिएको असोज १४ गते नै हो ।
बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था छ भने ब्याजदर ८.५ प्रतिशत रहेको छ ।
त्यसैगरी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ, साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड, भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ लिएका छन् ।
हालसम्मकै कम सुविधा असोज ७ गते जम्मा चार अर्ब ४१ करोड लिएका छन् । बैंकहरूले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।
हाल राष्ट्र बैंकले बैंकहरूलाई पाँच दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था छ भने ब्याजदर ८.५ प्रतिशत रहेको छ । अहिले अन्तरबैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।