
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक मर्जमा जान लागेका छन्। मर्जमा जाने विषयमा दुई बैंकबीच सोमबार प्रारम्भिक समझदारीपत्रमामा हस्ताक्षर भएको छ।
एमओयूमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। एमओयूअनुसार सेयर आदान प्रदान (स्वाप) रेसियो बराबर रहने भएको छ। मर्जरपछि एकिकृत बैंकको नाम कुमारी नै कायम हुने सहमति भएको छ।
एनसीसीको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ। यस्तै कुमारीको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ रहेको छ। बराबरी हैसियतमा मर्ज भए एकिकृत बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्ने छ।
मर्जपछि संयुक्त बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड र कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ। बैंकको कूल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ पुग्ने भएको छ।
मर्जरपछि एकिकृत बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल हुने सहमति भएको छ। यस्तै कुमारी बैंकका सीईओ रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीईओ हुने भएका छन्।
नेपाल राष्ट्र बैंकले पुँजीगत आधार ठूलो बनाउन मर्जमा जान दबाब दिएपछि बैंकहरू जोडी खोजेर धमाधम मर्जमा गएका छन्।