काठमाडौं । सरकारी हस्तक्षेपले राजनीतिकरणमा जेलिएर घाटामा गइरहेको नेपाल वायुसेवा निगममा पदाधिकारीहरु जहाज व्यवस्थापन गर्न उदासीन देखिएका छन्। डेढ महिना अघिदेखि दायाँ पट्टिको इन्जिनमा समस्या आएको निगमको न्यारोबडी जहाजको व्यवस्थापनले नै वास्ता नगरेको पाइएको छ।
केहीअघि न्यारोबडीको बायाँ इन्जिनमा समस्या आएको थियो। काम चलाउन एउटा भाडामा लिएर उक्त इन्जिन मर्मतका लागि पठाइएको थियो। पाँच महिनाअघि मर्मत गर्न दिएको बायाँ इन्जिन बनिसक्यो। निगम व्यवस्थापनले ल्याउन चासो नदिएको एक कर्मचारीले बताए।
‘हामीलाई इजरायलको कम्पनीले बायाँ इन्जिन लिन गत अगस्ट २० मै बोलाएको थियो। यता दाहिनेपट्टि समस्या आउँदा अस्ति बनाउन दिएकोलाई जडान गर्न सकिन्थ्यो तर व्यवस्थापनले त्यसमा मतलबै गरेन,’ ती कर्मचारीले बिजमाण्डूसँग भने।
नागरिक उड्डयन प्राधिकरणले गरेको निरीक्षण अनुसार निगमको जहाजको दाहिने पट्टिको इन्जिनमा ‘प्रिम्याचुर फेलियर’ भएको हो।
ग्राउन्डेड भएको डेढ महिनापछि १० दिन अघि निगमले जहाजको मर्मतको ठेक्का आह्वान गरेको छ। ठेक्का प्रक्रिया अनुसार अगाडि बढ्दा यो जहाज मर्मत हुन करिब ६ महिना लाग्ने जनाइएको छ। निगमले ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चर (ओइएम)/मेन्टिनेन्स रिपेयर अर्गनाइजेसनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग आह्वान गरेको हो।















