![](https://businessbahas.com/wp-content/uploads/2021/05/budget-karyanayan_20190531022936.jpg)
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि छुट्याएको पूँजीगत खर्च ३४ प्रतिशत मात्र खर्च भएको छ । १० महिनामा ३४ प्रतिशत खर्च गरेको सरकारसँग अब ६६ प्रतिशत रकम खर्च गर्न २ महिना मात्र बाँकी छ । यो दुई महिनामा सामान्य स्थिति हुन्थ्यो भने पनि त्यो रकम खर्च हुने थिएन । तर यो पटक कोरोना कहरका कारण त्यो रकम खर्च गर्न सक्ने स्थिति नै छैन । विकास बजेट छुट्याउने तर खर्च गर्न नसक्ने सरकारको पुरानै रोग हो । जुन यसपटक पनि दोहोरिएको छ । १० महिनामा सरकारले कुल बिनियोजन बजेटको ५३ दशमलब ८४ प्रतिशत खर्च गरेको छ । चालु खर्चको दर केही बढी भएपनि पूँजीगत खर्च भने निराशाजनक छ । चालु आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब पूँजीगत खर्च छुट्याइएको थियो । तर आर्थिक वर्ष सकिन २ महिनामात्र बाकी रहँदा १ खर्ब २१ अर्ब रुपैयाँ अर्थात ३४ दशमलव ४३ प्रतिशतमात्र खर्च भएको छ ।
यस्तै चालुगत खर्च ९ खर्ब ४८ अर्ब लक्ष्य राखेकोमा ५ खर्ब ९७ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । जुन ६३ दशमलव ८४ प्रतिशत हो । विगतका वर्षमा पनि चालु खर्च अन्तिम त्रैमाशमा बढी हुने गरेको थियो । जस अनुसार वैशाख जेठमा दैनिक १ अर्ब रुपैयाँ पूँजीगत खर्च हुन्थ्यो । तर यो पटक कोरोना कहरका कारण अहिले खर्च घटेको छ । यसले के देखाउँछ भने आजका दिनसम्म पनि बजेट खर्च अन्त्यन्त कम छ । कोरोनोको दोस्रो लहरले उच्च रुप लिइरहेको अवस्थामा विनियोजित बजेट खर्च अझै कम हुने सम्भावना बढ्दै गएको छ ।
देश संघीयतामा गएपछि स्थानीय सरकारबाट केही सानातिना विकासका काम भएका छन् । तर संघीय सरकारले गर्नुपर्ने ठूला विकास निर्माणका काम अघि बढ्न नसक्दा बजेट खर्च हुन सकेको छैन । बजेट बनाउँदा नै पर्याप्त तयारी नगर्नाले हरेक वर्ष विकास बजेट खर्च नै नहुने परम्परा दोहोरिने गरेको छ । यसले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । यो वर्ष त कोभिड महामारीका कारणले विकास निर्माणका काम अघि बढ्न नसक्दा पूँजीगत खर्च कम भयो भन्न सरकारलाई गतिलो बहाना मिलेको छ । तर यो ठूलो रोगका रुपमा विकास भैरहेको छ । यो कुनै एक आर्थिक वर्षको कुरो होइन । विकास बजेट खर्च नहुँदा प्रत्यक्ष असर अर्थतन्त्रमा पर्दै गएको छ ।