२०८३ बैशाख ११ शुक्रबार

काठमाडौँ । सरकारले आयात प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिने भएको छ । विदेशी मुद्राको संचिति घट्दै गएको भन्दै सरकारले गत बैशाख १३ गते अत्यावश्यक नभएका १० बस्तुमा आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई थप केही समयका लागि कायम राख्ने निर्णय गरेको स्रोतले बतायो ।

यसअघि मन्त्रीपरिषदको बैठकले भदौ १४ गतेसम्म आयात रोक्ने निर्णय गरेको थियो । सरकारले आयात रोक्ने गरि कुनै निर्णय नगरेको भए भदौ १४ गतेबाट गाडी विदेशी रक्सी लगायतका १० बस्तुको आयात खुल्ला हुने थियो ।

निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभि पनि आयात प्रतिबन्धको सूचीमा छन् । दशैंको मुखैसम्मै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका थिए ।

यस्तै नेपाल राष्ट्र बैंककाअनुसार बिलासी वस्तुमा आयात प्रतिबन्ध पछिको दुई महिनामै विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर