विश्वव्यापी रूपमा वृद्धि भएको आर्थिक अपराधले विभिन्न व्यवसाय प्रभावित भएका छन् । आर्थिक अपराध विश्वव्यापी प्रवृत्ति हो, विश्वमा हुने अपराधको ९० प्रतिशत हिस्सा आर्थिक अपराधमा पर्दछ । भोक, रोग, भोग–विलास, सामाजिक प्रतिष्ठा आर्जन गर्ने माध्यम आर्थिक नै भएकाले समाजमा आर्थिक अपराध बढ्दै गएको छ । केही वर्षअघिको ग्लोबल इकोनोमिक क्राइम सर्भेले आर्थिक अपराधका कारण व्यवसाय र संगठनहरू प्रभावित भएको उल्लेख गरेको छ । आर्थिक अपराध नियन्त्रण गर्ने हो भने कुनै पनि मुलुकमा सजिलै सुशासन कायम हुन्छ । आपराधिक कार्यले आन्तरिक तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको विश्वसनीयता र स्थिरतामा नकारात्मक असर पुर्याई समग्र अर्थ व्यवस्थामा गम्भीर प्रभाव पार्ने गरेको छ । आर्थिक अपराधका कारण भएको प्रत्यक्ष क्षतिका बारेमा मूल्यांकन गर्न कठिन हुने गरेको छ ।
के हो आर्थिक अपराध
मुद्रा प्राप्त गर्ने मनसाय राखी गरिने सबै खालका अपराधलाई आर्थिक अपराध भन्न सकिन्छ । मूलतः भ्रष्टाचार वा घुसखोरी, ठगी तथा जालसाजी, खोटाचलन, मानव तस्करी, लागूऔषध तस्करी, कर छली र कालो धनलाई सेतो पार्ने अभ्यास अर्थात सम्पत्ति शुद्धीकरणलाई आर्थिक अपराधको कोटीमा राखेर हेर्ने गरिएको छ । यद्यपि, आर्थिक अपराधको प्रकृति, प्रवृत्ति र प्रविधिमा व्यापक परिवर्तन हुँदै गएको छ । कुनै पनि देशको आर्थिक एवं वित्तीय क्षेत्रमा हुने अपराधको संख्या पनि दिनानु दिन बढ्दै गएको छ ।
विश्वव्यापीकरण सँगसँगै आर्थिक अपराध हुने क्रम नेपालमा पनि बढ्दो छ । खासगरी वित्त, बैंकिङ, घरजग्गा, स्टक, विदेशी विनिमय, कर, भन्सार, अन्तःशुल्क र विभिन्न बहानामा हुने सम्पत्ति शुद्धीकरणका कार्यहरू नेपालमा बढ्दै गएका छन् । बैंक तथा वित्तीय संस्था तथा सहकारी ठगी, नेटवर्किङ व्यवसाय, अवैध भीओआईपी, विदेशी मुद्रा तस्करी, भन्सार छली, हुन्डी कारोबार, सुन तस्करी, लागूऔषध ओसारपसार लगायत कारण बर्सेनी राज्यले अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । यसबाहेक वैदेशिक रोजगारी ठगी, ढुकुटी, लेनदेन तथा अंशबण्डा विवाद, जग्गा कारोबार लगायतले आर्थिक अपराधलाई अझ बढाइरहेका छन् । अधिकांश आर्थिक अपराध सङ्गठित रूपमा मूलतः सूचना प्रविधिको दुरूपयोगबाट हुने गरेको पाइन्छ । पछिल्लो समय अपराधमा संलग्न व्यक्तिहरूले प्रविधिलाई अपराध गर्ने प्रमुख औजारका रूपमा प्रयोग गरेकाले यससँग संलग्न अपराध झन् बढेको छ ।
कतिपय मुलुकले संसारको जुनसुकै मुलुकमा भए पनि आफ्ना नागरिकको कारोबार तत्काल थाहा पाउने कानुन कार्यान्वयनमा ल्याएका छन् । तर नेपालका अनुसन्धान अधिकारीहरुले प्रभावकारी ढंगले काम गर्न सकिरहेको पाइँदैन । उनीहरुलाई राजनीतिक नेतृत्वदेखि विभिन्न ठाउँबाट अनुसन्धान नगर्ने दबाब आईरहेको हुन्छ । कर्पोरेट क्षेत्र समाजभन्दा अलग रहन सक्तैन र रहनु पनि हुँदैन । उसले आफ्ना गतिविधिलाई बढीभन्दा बढी पारदर्शी तुल्याएर आर्थिक गतिविधिमा सहभागिता र सक्रियता देखायो भनेमात्र समाजका सबै पक्षले सम्मानित व्यवहार गर्छ । आर्थिक अपराध कम गर्नमा सरकार, निजी क्षेत्र र नागरिक समाजको उत्तिकै सहभागिता चाहिन्छ ।
आर्थिक अपराधका स्वरुप
नेपालको सन्दर्भमा भन्ने हो भने, गाउँको कुनै जमिनदारले अनपढ गाउँलेलाई ५ हजार रुपैयाँ दिएर पछि त्यसमा शून्य थपी ५० हजार बनाएर ठगी गर्ने प्रपञ्च नै यहाँको अर्थतन्त्रमा दशकौंदेखि भइरहेको आर्थिक अपराधको साक्षात् उदाहरण हो । जिन्दगीभरि साहूको गुलामी गर्दा पनि बाबुबाजेले लिएको केही सय वा हजारको ऋण कहिल्यै नसकिने, सावाँभन्दा ब्याज बढी भइ ऋणीले आफ्नो घरखेत गुमाउनुपर्ने आर्थिक अपराधका श्रृंखलाहरू बिस्तारै नेपालमा झाँगिँदै गएर आर्थिक अपराधका नयाँ नयाँ स्वरुपहरु देखापर्न थाले, जसलाई संक्षेपमा बुँदागत रुपमा उल्लेख गर्नुपर्दा :
भ्रष्टाचार : बढ्दो भ्रष्टाचारले आर्थिक अपराधको ग्राफलाई धेरै माथि पुर्याएको पाइन्छ । भ्रष्टचार कुनै क्षेत्र वा मुलुकमा मात्र सिमित हुँदैन, यो विश्वव्यापी समस्या हो । नेपालजस्ता अति कम विकसित, राजनीतिक स्थायित्व नभएको र जनचेतनाको अभाव भएको मुलुकमा मुट्ठीभरका व्यक्तिहरु चरम भ्रष्टाचारमा लिप्त रहेका पाइन्छन्, तर उनीहरुलाई कारबाही गर्ने प्रयास गर्दा त्यस्तो निकायमाथि नै औंला ठड्याइन्छ, भ्रष्टाचारीलाई बचाउन राजनीति सक्रिय हुन्छ । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक तहमा हुने गरेको अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नै देखाएको छ । राजनीतिक आग्रह र पूर्वाग्रहको घनचक्करमा यहाँ भ्रष्टाचारका ठूलठूला काण्ड छोपिएका छन् ।
सम्पत्ति शुद्धीकरण : सम्पत्ति शुद्धीकरण नयाँ सहश्राब्दी प्रारम्भ भएपछि एक प्रमुख आर्थिक अपराधको रूपमा संसारभर देखापरेको छ । कालो धनलाई शुद्ध धनमा रुपान्तरित गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण अर्थात मुद्रा निर्मलीकरण भनिन्छ । मुद्रा निर्मलीकरणकै माध्यमबाट अवैधानिक तरिकाबाट आर्जित आयलाई कानूनी आयको रुपमा परिवर्तित गरिन्छ ।
मानव बेचबिखन र लागु औषध : आर्थिक उद्देश्यले मानव बेचबिखन तथा लागु औषध कारोबार गरिने भएकाले यस किसिमको अपराधलाई आर्थिक अपराधको रुपमा लिइन्छ ।
साइबर अपराध : अपराधीहरुले प्रविधिको प्रयोग गरी आफ्ना अपराधिक क्रियाकलापलाई विस्तार गरेका छन् । इन्टरनेटको प्रयोगले अपराधिलाई झनै सहयोग पुगेको छ । यस किसिमको अपराधमा डाटा, सूचना, क्रेडिकार्ड, पासवर्ड नष्ट गर्ने, भाइरसको प्रयोग गरी सूचना प्रविधि विनास गर्ने, कम्प्युटरलाई माध्यम बनाई गरिने अपराध जस्तै : ठगी, विभिन्न खाताको पैसा पठाएर चोरी, पासवर्डको ब्यापार किर्ते, जालसाज आदि पर्दछन् । सूचना तथा सञ्चार प्रविधिको बढ्दो विकास, बढ्दो सहरीकरण, विश्व बजारसम्म पहुँचजस्ता कारणहरूले गर्दा प्रणालीगत हेरफेर र दुरुपयोग गरी संगठित क्षेत्रले गर्ने यस किसिमको आर्थिक अपराध धेरै देशका लागि टाउको दुखाइको विषय भएको छ ।
बौद्धिक सम्पत्ति सम्बन्धी अपराध : ट्रेडमार्कको नक्कल गर्नु, चोर्नु, अर्काको रचना कपि गर्नु आदि जस्ता अपराधहरु बौद्धिक सम्पति सम्बन्धी अपराध अन्तर्गत पर्दछन ।
जाली नोटसँग सम्बन्धित अपराध : नक्कली पैसा छपाउने वा यसको कारोवार गर्ने अपराधहरु जाली नोट र मुद्रासँग सम्बन्धित अपराध अन्तर्गत पर्दछन् ।
ठगी : यसमा चोरी, डकैति, लुटपाट तथा झुक्याएर आर्थिक ठगी गर्ने अपराधहरु पर्दछन् । यस बाहेकका व्यापारीक र कर छली तथा राजश्व चुहावट, सेयर बजारसँग सम्बन्धित कार्यहरु यस अपराध अन्तर्गत पर्दछन् । बैंक वा वित्तीय संस्थामा सर्वसाधारणका करोडौंको निक्षेप दुरुपयोग गर्ने र बैंक ठगी गर्नेहरूको अर्को जमात छ । रक्तचन्दन, यार्सागुम्बाजस्ता जडिबुटीहरूको अवैध कारोबार गर्नेहरू रातारात धनी भएका छन् । वन्यजन्तु र मूर्तिको चोरी–तस्करीहरू पनि यहीं छन् । पढ्न वा रोजगारीका लागि विदेश जान चाहनेहरूलाई ठग्नेहरु पनि यहाँ धेरै छन् । त्यस्तै, नेपालमा भरिया, कामदारको नाममा नक्कली कम्पनी खडा गरेर विदेशी मुद्रा अपचलन गर्ने गरिएको थुप्रै प्रकरण त सार्वजनिक भएका थिए नै पछिल्ला केहीवर्षयता भ्याट छली÷ठगी प्रकरणहरूले संगठित क्षेत्रले कसरी अपराध गरिरहेका छन् भन्ने कुरालाई उदांगो बनाइदिएको छ ।
नेपालमा आर्थिक अपराध कसरी मैलाइरहेछ भन्ने कुराको दृष्टान्तस्वरुप पछिल्ला केही वर्षयता सुन तस्करी प्रकरण बढी चर्चामा रहँदै आएको छ । सुन तस्करीमा सरकारी पदमा बस्ने उच्च ओहोदाका व्यक्तिहरु नै संलग्न रहेका समाचारहरु पनि आइरहेका छन् ।
आर्थिक अपराध नियन्त्रणका संरचनाहरु
नेपालमा आर्थिक अपराध नियन्त्रण गर्ने कानुनी संरचनाहरुमा सम्पत्ति शुद्धिकरण निबारण ऐन, बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ्ग कसुर तथा सजाय ऐन, भन्सार ऐन, मूल्य अभिबृद्धि कर ऐन, वैदेशिक रोजगार ऐन, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, मुलुकी ऐन, राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, लागू औषध नियन्त्रण ऐन, नेपाल राष्ट्र बैंक ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, अन्तःशुल्क ऐन, भ्रष्टाचार निवारण ऐन, आयकर ऐन आदि रहेका छन् । त्यसैगरी, आर्थिक अपराध नियन्त्रणसँग सम्बन्धित संस्थागत संरचनाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राजश्वसँग सम्बन्धित निकायहरु, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालयहरु, सर्वोच्च, पुनरावेदन र जिल्ला अदालत, विषेश अदालत, राजश्व न्यायाधिकरण लगायत रहेका छन् । आर्थिक अपराध नियन्त्रण गर्ने अर्को निकाय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पनि हो । वित्तीय क्षेत्रमा हुने शंकास्पद कारोबारको अनुगमन गर्न नेपाल राष्ट्र बैंकभित्रै वित्तीय सूचना एकाइ स्थापना गरिएको छ ।
यी संरचनाहरुको क्रियाशीलताका बाबजुद सम्पत्ति शुद्धीकरणलगायतका आर्थिक अपराधहरू घट्नुको सट्टा बढिरहेको पाइन्छ । हिजोआज जुनसुकै देशमा पनि सम्पत्ति शुद्धीकरणलाई आर्थिक अपराधको एक प्रमुख पाटोको रूपमा लिइन्छ । अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा क्षमता अभिवृद्धि, नियम कानुनको समयानुकूल परिवर्तन, परिमार्जन र अभिपालनाले मात्रै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रिया–कलापमा वित्तीय लगानी नियन्त्रणको प्रभावकारी प्रणालीको विकास गर्न सहयोग पुग्ने देखिन्छ । कतिपय मुलुकले संसारको जुनसुकै मुलुकमा भए पनि आफ्ना नागरिकको कारोबार तत्काल थाहा पाउने कानुन कार्यान्वयनमा ल्याएका छन् । तर नेपालका अनुसन्धान अधिकारीहरुले प्रभावकारी ढंगले काम गर्न सकिरहेको पाइँदैन । उनीहरुलाई राजनीतिक नेतृत्वदेखि विभिन्न ठाउँबाट अनुसन्धान नगर्ने दबाब आईरहेको हुन्छ । कर्पोरेट क्षेत्र समाजभन्दा अलग रहन सक्तैन र रहनु पनि हुँदैन । उसले आफ्ना गतिविधिलाई बढीभन्दा बढी पारदर्शी तुल्याएर आर्थिक गतिविधिमा सहभागिता र सक्रियता देखायो भनेमात्र समाजका सबै पक्षले सम्मानित व्यवहार गर्छ । आर्थिक अपराध कम गर्नमा सरकार, निजी क्षेत्र र नागरिक समाजको उत्तिकै सहभागिता चाहिन्छ । आपराधिक व्यक्ति तथा समूह साधन–स्रोत र प्रविधिका हिसाबले शक्तिशाली बन्दै गएका छन् ।