
काठमाडौं । राष्ट्रिय योजना आयोगले तीन वर्ष अगाडि योजना छनोटलाई प्रभावकारी बनाउन भन्दै सञ्चालनमा ल्याएको आयोजना बैंक प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । ६ हजार बढी आयोजना हालसम्म अनलाइनमार्फत आयोजना बैंकमा सूचीकृत भएपनि आयोगले अहिलेसम्म ती आयोजनाहरू छनोट गर्न सकेको छैन ।
आयोजना बैंकको अवधारणाको उद्देश्यअनुरूप प्रभावकारी काम नभएपछि निर्देशिका नै नयाँ बनाउने तयारी आयोगले थालेको छ । पहिले बनेको आयोजना बैंकसम्बन्धी निर्देशिका अनुसार आयोजना छनोट गर्न समस्या परेकाले त्यसलाई परिमार्जन गर्न लागिएको राष्ट्रिय योजना आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
विशेषगरी ठुला तथा राष्ट्रिय योजनाहरूको छनोट, त्यसको प्रभावकारिता, बजेटको बाँडफाँट, योजनाको औचित्य र त्यसको आवश्यकतालाई व्यवस्थापन गर्न आयोजना बैंकको अवधारणा ल्याइएको थियो । तर, आयोजना बैंक सञ्चालनका लागि आवश्यक निर्देशिका नै समयसापेक्ष नभएको भन्दै आयोगले त्यसलाई परिमार्जन गर्ने तयारी गरेको हो ।
आयोजना बैंकमा बढी आयोजना सूचीकृत भएकाले कुन आयोजनालाई स्वीकृति दिने भन्ने अन्योल अहिले छ । आयोगका प्रवक्ता पौडेल मन्त्रालयहरूको राय लिएर निर्देशिका बनाइने र त्यसकै आधारमा आयोजना छनोट गरिने बताउँछन् ।
“अहिलेको बजेटले आयोजना बैंकबाट छनोट आएका आयोजनालाई प्राथमिकता दिने भनेको छ । त्यसैलाई सहयोग पुग्ने गरी हामीले आयोजना बैंकसम्बन्धी नयाँ निर्देशिका बनाउन लागेका हौँ,” उनले भने, “अहिले आयोजना बैंकमा ६ हजारभन्दा बढी आयोजनाहरू सूचीकृत भएका छन् । यी आयोजनाहरूबाट उपयुक्त र आवश्यक आयोजना छनोट गर्न पनि समयसापेक्ष आयोजना बैंकसम्बन्धी निर्देशिका बनाउन लागिएको हो ।”
अहिलेको निर्देशिकामा ५० करोडभन्दा बढीका आयोजना सूचीकृत गराउन पाइने व्यवस्था छ । यसै आधारमा आयोजना बैंकमा आयोजनाहरू सूचीकृत हुँदै आएका छन् । यसलाई परिमार्जन गर्न आवश्यक भएकाले मन्त्रालयका सहसचिवहरूसँग छलफल भइरहेको पनि पौडेलले जानकारी दिए ।
त्यसपछि यसको ड्राफ्ट मन्त्रिपरिषद्मा पठाइने बताइएको छ । अब आयोजना छनोट हुँदा मन्त्रालयबाट नै छनोट भएर मात्र आयोजना बैंकका सूचीकृत गराउनुपर्ने व्यवस्था भइरहेको पौडेलले जानकारी दिए ।
अहिले सूचीकृत भएका आयोजनाहरू र अब आउने नयाँ आयोजनाहरू प्रभावकारी कार्यान्वयनमा ल्याउन अब बन्ने निर्देशिकाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।