
काठमाडौँ । मुलुकमा पछिल्लो समय बिजुली उत्पादन बढे पनि भारतसँगको निर्भरता भने हट्न सकेको छैन । खासगरी गत आर्थिक वर्ष हिउँदका महिनामा भारतबाट ठूलो रकमको बिजुली आयात भएको छ । बर्खामा भने नेपालले निर्यात गर्दै आएको छ । अहिले बर्खामा पनि नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भारतबाट १५ अर्ब ४५ करोड रुपैयाँको बिजुली आयात भएको छ । जबकि सो आर्थिक वर्ष जम्मा ३ अर्ब ८८ करोड रुपैयाँको बिजुली भारत निर्यात भएको छ । तसर्थ गत आर्थिक वर्षमा भारतसँग बिजुलीको ब्यापार घाटा साढे ११ अर्ब छ ।
यद्यपि पछिल्लो समय आयात घट्दै गएको छ भने निर्यात बढ्न थालेको छ । यसले गर्दा चालु आर्थिक वर्षदेखि नै आयातभन्दा निर्यात बढी हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षबाट खुद आयातको अवस्था अन्त्य हुने बताए । यस आर्थिक वर्षदेखि भारतसँग नेपालको बिजुली ब्यापार फाइदामा जाने प्राधिकरणको अनुमान छ ।
आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आर्थिक वर्ष २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिट आयात भएको छ । आर्थिक वर्ष २०७८/७९मा विद्युत् पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ ।