काठमाडौं । नियमित उडान संचालनका लागि पूर्वअवस्था अवलोकलनका लागि बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स् नेपालसँगै सम्बद्ध सरकारी निकायका प्रतिनिधिहरु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रियल विमानस्थल पुगेका छन्। प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जनवरी १ बाट संचालनमा ल्याउने निर्णय केही दिनअघि मात्र गरेको हो।
बार्नका अधिकारीहरु सहित नेपाल वायुसेवा निगम, अध्यागमन विभाग, भन्सार, श्रम विभाग, आयल निगम लगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरु विमानस्थल निरीक्षण र छलफलका लागि बुधबार त्यहाँ पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो विमानस्थल संचालनका लागि आवश्यक तयारीका लागि विभिन्न निकायबीच छलफल भएको प्राधिरणका एक अधिकारीले जानकारी दिए। यो विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निगम र प्राधिकरणबीच सहुलियत उपलब्ध गराउने विषयमा पनि प्रारम्भिक छलफल भएको उनले बताए।
‘पोखर सँगै भैरहवामा पनि ग्राउण्ड ह्याण्डलिङ सेवावापत लिइने शुल्क सहुलियतबारे प्रारम्भिक छलफल भएको छ। यसका लागि निगमले प्राधिकरणले लिँदै आएको विभिन्न इक्विपमेन्ट, कार्यालय, इन्धन लगायत शुल्कमा सहुलियतको प्रस्ताव गरेको छ,’ उनले भने।
यो विमानस्थलमा उडान संचालनका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका विभlन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका कन्ट्री म्यानेजरलाई अवलोकन र निरीक्षण गराउने योजना रहेको बार्नका एक अधिकारीले बताए।
९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यो विमानस्थलनजिकको डाँडा कटान र ल्यान्डफिल साइट क्लियर गर्ने कार्य द्रुत गतिमा अगाडि बढाउने प्रकृया सुरु भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।
आउँदो अक्टोबरमा यो विमानस्थलको फ्लाइट क्यालिब्रेसन गर्ने योजना रहेको उनले जानकारी दिए। फ्लाइट क्यालिब्रेसन सकिएलगत्तै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि उडान संचालन अनुमति लिन आवेदन माग्ने क्यानले योजना बनाएको छ।
प्राधिकरणको प्रविधिक टोलीले डाँडाको ४० मिटर उचाइ काट्नैपर्ने जनाएको थियो। रिट्ठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ। यो डाँडा काट्न १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
निर्माण कार्य लगभग सकिएको यो विमानस्थलमा अन्तिम चरणका काम र फ्लाइट क्यालिब्रेसन बाँकी छ। यो विमानस्थल संचालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा हुँदै आएको एयर ट्राफिक चाप न्यून गर्न थप मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ।
विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको हो। कुल २२ अर्ब रुपैयाँ लागत रहेको यो विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान संचालन हुने बताइएको छ। क्षेत्रीय स्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा संचालनका लागि जोडिने विश्वास गरिएको छ।















