२०८२ श्रावण १ बिहीबार

काठमाडौं । विदेशबाट फर्किदा राजस्व तिरेर व्यक्तिगत रुपमा सुन ल्याउने क्रम बढेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार अघिल्लो दुई/तीन महिनाको तुलनामा अहिले सुनको परिमाण बढेको छ। कार्यालयका प्रमुख महेश भट्टराईले चाडपर्व नजिकिएर विदेशबाट सुन ल्याउने क्रम बढेको अनुमान गरे।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्।

यस्तै, भन्सार ऐनअनुसार बनेको निर्देशिकाले एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्राम बाहेक थप २ सय ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ।

५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति १० ग्राम १० हजार रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।

अहिले यस्ता व्यक्तिले ल्याउने सुन दैनिक डेढदेखि दुई किलोसम्म आउने गरेको कार्यालय प्रमुख भट्टराइले बताए। ‘दुई तीन महिनायता १ किलो तल झरिसकेको थियो। अहिले डेढदेखि २ किलो दैनिक यस्ता सुन आउँछन्,’ भट्टराईले भने। हरेक दिन विदेशबाट फर्किने नेपालीको संख्या सरदर ४ हजार हुन्छ। यसरी आउनेमध्ये केहीले सुनचाहिँ अनिवार्यजस्तै गरी ल्याउँछन्।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर गर्ने बढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर