२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । १६ दिनको अवधिमा बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ। निक्षेपसँगै ऋण पनि घट्न थालेको छ। राष्ट्र बैंकका अनुसार, असार मसान्तको तुलनामा साउन १६ गतेसम्म आउँदा बैंकको निक्षेप १०० अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा झरेको हो। साउन लागेपछि निक्षेप निरन्तर घट्न थालेको छ। निक्षेपसँगै ऋण पनि घटिरहेको छ।

विगतमा यतिबेला निक्षेप बढेर जान्थ्यो। यसपाली उल्टो अवस्था देखिएको छ। राष्ट्र बैंकका अनुसार, तीन वटा कारणले अहिले निक्षेप घटेको हो। ‘पहिलो त, नेपाल आयल निगमले बैंकको निक्षेप झिकेर भारतीय आयल कर्पोरेसनलाई तिरिरहेको छ’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘अर्कोतिर सरकारले बैंकमार्फत उठाएको गत बर्षको कर साउन लागेपछि बैंकहरुले सरकारी खातामा जम्मा गरे। अर्थात असारमा काटेको चेकको भुक्तानी साउनमा भयो।’

भट्टका अनुसार, तेस्रो कारण- सरकारले निर्माण ब्यवसायीलगायतलाई बैंकमार्फत गरेको भुक्तानी उनीहरुले झिकेको हुनसक्छ। ‘ढिलोचाँडो हो प्रणालीभित्रको पैसा प्रणालीमा फर्किनै हाल्छ’ उनले भने, ‘बिस्तारै निक्षेपमा सुधार हुन थाल्छ।’

बैंकहरुको कुल ऋण पनि असार मसान्तको ४१ खर्ब ७५ अर्बको तुलनामा ४१ खर्ब ५८ अर्बमा झरेको छ। यो भनेको १७ अर्ब रुपैयाँको गिरावट हो। यो पुरानो ऋण भुक्तानी हुन थालेका कारण घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर