
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ बर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए ।
मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताईन् ।
कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको पनि बताइन् । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उनले बताईन् ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ ।
मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
मेगा बैंक नेपाल लिमिटेडले १२औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।