२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । अर्थतन्त्र अनुकूल अवस्थामा पुग्नका लागि संघर्षरत हुँदा नेपाली उद्योग व्यवसायहरुको उत्पादन अवस्था खस्किएको छ। नेपाल उद्योग परिसंघले सोमबार सार्वजनिक गरेको नेपालका उद्योगहरुको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकले यस्तो देखाएको हो।सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक र सेवा क्षेत्रका उद्योगहरुको अवस्था खस्किएको देखिएको छ।

प्रतिवेदनमा समेटिएको उक्त अवधिको विस्तृत तथ्यांकले गत आवको दोश्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखाएको छ।यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्र उपयोग गरेको देखाएको छ। दोश्रो त्रैमासमा उद्योगहरुको क्षमताको उपयोग ७१ प्रतिशत थियो।

अध्ययन अवधि (गत माघ, फागुन र चैत्र) मा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ।

उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पूँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ।अघिल्लो त्रौमासमा चालु पूँजी ३४.४ प्रतिशत ऋण लिएका थिए।

अध्ययनमा सहभागीमध्ये 82.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन्। प्रतिवेदनले गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२% रहेको देखाएको छ। दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ % थियो ।

औद्योगिक अवस्थिति प्रतिवेदनको यो अंक आगामी मौद्रिक नीतिलाई ध्यानमा राखेर तयार गरिएको परिसंघले जनाएको छ।मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा दिएको सुझाव समेत प्रतिवेदनमा समावेश छ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको ताजा अवस्था चित्रण गर्न सहयोग पुग्ने बताए।

त्यसक्रममा मन्त्री बडूले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रष्टायाउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताएका थिए।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको प्रतिवेदन सार्वजनिकका क्रममा मन्त्री बडूलाई जानकारी गराए। यसप्रति संवेदनशिल हुन सरकारलाई उनले आग्रह गरे।निजीक्षेत्रको तर्फबाट नेपालमै पहिलोपटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको पनि अध्यक्ष अग्रवालले बताएका थिए।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगेको बताए।यस्तो प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने पनि उनको भनाइ छ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो। यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ। उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर