२०८१ मंसिर २२ शनिबार

काठमाडौं । तीव्र उतारचढावका बाबजुद चालु आर्थिक वर्षलाई हरियो पोतेर सेयर बजार बन्द भएको छ। चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य ७.८३ अंकको वृद्धि देखियो। बजारले पछिल्लो वृद्धिलाई निरन्तरता दिएको हो। सोमबारदेखि सेयर बजार निरन्तर उकालो लग्दै गएको हो।

साताको सुरुवाती कारोबारमा भने ७७ अंकको फराकिलो गिरावट सेयर परिसूचकमा देखिएको थियो। उक्त गिरावट लगत्तै सेयर बजारले लय परिवर्तन गर्दै उकालो क्रमलाई निरन्तरता दिएको हो।

केवल दुई घण्टाको अवधिका लागि खुला हुने शुक्रबारको कारोबार रकम भने करिब डेढ अर्ब रुपैयाँ छ। आज १ अर्ब ४५ करोड रुपैयाँ बराबरका साढे ४० लाख सेयर कारोबारमा आए।

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको माथिल्लो तामाकोसीको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखिन्छ। शुक्रबार दुई घण्टाको अवधिमा माथिल्लो तामाकोसीको झन्डै २० करोड रुपैयाँ बराबरको सेयर किनबेचमा आयो। कुल कारोबार रकमको साढे १३ प्रतिशत हुने सेयर खरिद बिक्री भएको हो।

सामान्य अंक बढेको सेयर बजारमा सामूहिक लगानी कोष योजनाहरुको खरिदले तीव्रता पाएको देखिन्छ। ११२ वटा स्टकको मूल्य आज बढेको हो। जसमध्ये ४० वटा म्युचुअल फन्डका योजनाहरु छन्। सामूहिक लगानी कोष उपसमूह आफै डेढ प्रतिशत उक्लिएको छ।

सामूहिक लगानी कोषसँगै लघुवित्त, जीवन बीमा, विकास बैंक र वाणिज्य बैंक उपसमूह पनि बढेका छन्। जसमध्ये सर्वाधिक बढेको लघुवित्त उपसमूह हो। यो उपसमूह आज १.५७ प्रतिशत उक्लिएको हो। प्रभावशालि वाणिज्य बैंक उपसमूह पनि १.३८ प्रतिशत बढेको देखियो।

वित्त र जलविद्युतसँगै कारोबारमा आएका थप ६ उपसमूहमा गिरावट देखिएको हो। परिणामस्वरूप १०४ वटा कम्पनीको मूल्य घटेको पाइयो। शुक्रबार सर्वाधिक गुमाउने ग्रीनलाइफ हाइड्रोका लगानीकर्ता भए। कम्पनीको सेयर मूल्य ५.३१ प्रतिशतको दरले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय