२०८१ मंसिर २२ शनिबार

काठमाण्डौं । चालु आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता मूलय वृद्धि साढे ८ प्रतिशत पुगेको छ । विश्वव्यापी रुपमा नै इन्धन तथा उपभोग्य बस्तुहरुको मूल्य बढेपछि त्यसको असर महंगीमा परेको हो । चालु आर्थिक वर्षको बैंशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

यस्तो दर जेठ महिनामा झनै बढेर ८.५६ प्रतिशत पुगेको हो । चालु आवको जेठको मूल्य वृद्धि गत आवको सोही अवधिको भन्दा करिब देब्बरले धेरै हो । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो ।

चालु आवको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ ।

२०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः२२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ९.०० प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ९.२६ प्रतिशत रहेको छ ।

चालु आवको जेठ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.८४ प्रतिशत, १५.३४ प्रतिशत र ७.८३ प्रतिशत रहेको छ । सो अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत रहेको छ ।

२०७९ जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त सूचकाङ्क १.९८ प्रतिशतले बढेको थियो । जेठ महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२४ प्रतिशतले बढेको छ ।

२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत तलब तथा ज्यालादार सूचकाङ्क ६.४२ प्रतिशत रहेको छ । २०७९ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ८.५६ प्रतिशत र सन् २०२२ मे महिनामा भारतमा ७.०४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय