२०८१ मंसिर २१ शुक्रबार

काठमाण्डौं । केन्द्रीय तथ्यांक विभागले मुलुकभर सञ्चालनमा रहेका साना तथा ठूला उद्योगमा ६० हजार १८५ उद्योग प्रतिष्ठानहरुमा ३ लाख ८१ हजार ६८७ जनाले प्रत्यक्ष रोजगार पाएको जनाएको छ । विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ अनुसार प्रत्यक्ष रोजगार पाएकामध्ये ९० प्रतिशत बढी अर्थात औद्योगिक उत्पादनशिल क्षेत्रमा मात्रै ३ लाख ४६ हजार १४३ जनाले रोजगारी पाएका हुन् । यो कुल रोजगारीको ९०.६९ प्रतिशत हो ।

त्यसो त सर्वेक्षणमा सामेल भएका साना ठूला उद्योगमध्ये ६० हजार १८५ मध्ये ५६ हजार ६११ उद्योग उत्पादन क्षेत्रका छन् । यो कुल उद्योग संख्याको ९४.०६ प्रतिशत हुन आउँछ ।

त्यसैगरी आर्थिक वर्ष २०७५।७६ सम्ममा दोस्रो ठूलो रोजगार पाउने क्षेत्र विद्युत, ग्याँस, बाफ तथा वातानुकूलित सेवा रहेको छ । यस क्षेत्रमा १७ हजार २३८ जना व्यक्तिहरुले रोजगारी पाएका छन् । विद्युत्, ग्याँस लगायत क्षेत्रका ९९४ वटा उद्योग रहेका छन् ।

तेस्रो ठूलो रोजगारी पानीको आपूर्ति, ढल निकास, फोहर, व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार ५८७ जना रोजगार रहेका छन् । सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुको संख्या सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा यस क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठानहरु रहेको सर्वेक्षणमा उल्लेख छ ।

तथ्यांक विभागको अनुसार सबैभन्दा कम ५ हजार ७१९ जनाले खानी तथा उत्खनन् क्षेत्रमा रोजगार पाएका छन्। खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

यी चारै प्रकारका उद्योगमा नियमित तलब नलिए पनि उद्योगबाट नाफा, परिवारका व्यक्तिले गरेको काममा निर्भर भएकाहरूका तथ्याङ्क भने ४ लाख ९१ हजार २२७ जना रहेको उल्लेख छ ।

तथ्यांक विभागले विगतमा उत्पादनशिल उद्योगहरुलाई मात्र समेटी गणना तथा सर्वेक्षण गर्दै आएकोमा राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा भने अन्तराष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रहरुलाई समेत समेटिएको हो ।

नेपाल स्तरीय औद्योगिक वर्गीकरण (एनएसआईसी) अनुसार खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा तथा पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुका क्षेत्रहरुलाई समेत समावेश गरिएको हो ।

सर्वेक्षण अन्तर्राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरण अनुसार तयार गरिएकाले विगतका गणना तथा सर्वेक्षणको तुलनामा फराकिलो दायरा, साना ठूला सबै उद्योगहरु समावेश गरिएको छ । अहिलेको सर्वेक्षणमा प्रदेशस्तरसम्मको नतिजा प्राप्त भएकाले यसलाई नेपालको पहिलो एकिकृत औद्योगिक सर्वेक्षण भनिएको छ ।

नेपाल स्तरिय औधोगिक वर्गिकरणमा समावेश चारवटै वर्गका उद्योगसँग सम्बन्धित आर्थिक क्रियाकलाप गर्ने तथा कम्तिमा कुनै एक सरकारी निकायमा दर्ता भई निश्चित स्थानमा रहेर आव २०७५।७६ मा सञ्चालनमा रहेका प्रतिष्ठानहरुलाई मात्र सर्वेक्षणमा समावेश गरिएको तथ्याङ्क विभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय