काठमाडौं । सेयर बजारमा आएको गिरावटले शुक्रबार पनि निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता सेयर किनबेचमा पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको हो । बिहीबारको गिरावटलाई निरन्तरता दिंदै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओर्लिएको छ।
शुक्रबार कारोबार बन्द हुँदा परिसूचकमा ३४.७१ अंकको फराकिलो गिरावट देखियो। शुक्रबारको कारोबारपछि परिसूचक पुनः दुई हजारको विन्दु तल ओर्लिएको हो। नेप्से १९९२.६१ को विन्दुमा सीमित हुन पुगेको छ।
सेलिङ प्रेसरले परिसूचकले डेढ प्रतिशतभन्दा धेरै गुमाएको हो। विशेषगरि बढेका स्टकहरुमा ‘प्यानिक सेल अफ’ देखिएको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूह अन्तर्गतका सेयरमा बिक्रेता हाबी भएका छन्।
उत्पादन तथा प्रशोधनका सेयरहरुको मूल्य समेत तीव्र गतिमा ओर्लिएको छ। कारोबारमा आएका अधिकांश उपसमूह घटेका हुन्। औसत २ प्रतिशतका दरले कारोबारमा आएका १३ उपसमूह घटे।
परिसूचकसँगै खरिद बिक्रीमा पनि तीव्र गिरावट आएको छ। कारोबार अवधिका मात्र १ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भयो। झन्डै ७० करोड रुपैयाँले कारोबार रकम खुम्चिएको छ।