
काठमाडौँ । गत सातादेखि हरेक दिनजसाे अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । गत वर्षको असार मसान्तको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग रुपैयाँ ३.७१ प्रतिशतले कमजोर रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रुपैयााँ २.७२ प्रतिशतले बलियो थियो ।
पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँमात्रै थियो । विश्वबजारमा डलरको माग अकासिएपछि भाउ पनि बढेको हो ।
पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।
डलर बलियो बन्दा नेपाललाई हानी मात्र हुँदैन, लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन्।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो ।
अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । दुर्भाग्य, नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्ने अवस्था छैन ।
विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा यति बेला मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ ।
नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ ।
निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ । समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नाेक्सानी ठूलो देखिन्छ ।