२०८२ असार २९ आईतवार

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचका २० जना फेलोहरुले ‘इनेबलर्स अफ सोसल आन्ट्रप्रेनरशिप अवार्ड पाएका छन्। नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआईवाईईएफ नेपालले यो अवार्ड प्रदान गरेको हो।

सीएनआईवाईईएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो।

२०७८ चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदकबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।

फेलोशिप कार्यक्रमका सहभागीहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफी शप सञ्चालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन्। हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ।

बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ।

यो फेस्ट युवाहरुलाई उद्यमशीलता प्रवर्द्धन गर्न आयोजना गरिएको बैंकले जनाएको छ। यस कार्यक्रममा नेपालमा उद्यमशीलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तव्यहरु प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय