काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले सोमबार सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ ।
ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।
खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।
दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।