२०८१ मंसिर २३ आईतवार

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । वर्षौंदेखि विभिन्न व्यवसायमा संलग्न रहादै आएको यो प्रतिष्ठित व्यवसायिक घरानाले अब विद्युतीय सवारीमा पनि हात हालेको छ । 

सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटाका गाडी बेच्ने भएको छ । जसअन्तर्गत पहिलो चरणामा निटा भी नेपाली बजारमा सार्वजनिक गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ । 

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्‍याउनका लागि विद्युतीय सवारीको प्रवर्द्धनमा पनि लागेको बताए ।

‘नेपालको व्यापार घाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थको खपत सरकारले सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यहीं योजनालाई सघाउन हामीले निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौा ।’

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको छ । अन्य अधिकांश सवारी उत्पादकले आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि भएकाले यो प्रभावकारी रहेको सीजीको दाबी छ ।

होजोनले २०२० मा निटा भी सार्वजनिक गरेको थियो भने २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो ।

सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरभन्दा धेरै रेञ्ज दिने दावी गरिएको छ । निटा भी कारमा सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ ।

निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ । फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली जडित छ ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा नि:शुल्क उपलब्ध गराइने सीजी माेटर्सले जनाएको छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाा प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए ।

‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारी मात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ सीईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी हामीले काम गर्दैछौं ।’ डिजेल/पेट्रोल सवारीले वातावरण प्रदुषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाएको उनको भनाइ छ ।

त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअप समेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारी रहेको अग्रवालले बताए ।

उनले भने, ‘उत्कृष्ट सोरुम, वर्कसप र हाइवे तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अघि बढाइरहेका छौं ।’ निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजना रहेको सीजीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय