२०८१ मंसिर २३ आईतवार

काठमाडौं । एक वर्षको अवधिमा कुल जीवन बीमालेख ४७.३२ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार गत वर्षको बैंशाख मसान्तदेखि यस वर्षको बैशाख मसान्तसम्म बीमालेख संख्या ३९ लाख ७३ हजार ९३६ ले बढेको हो । गत वर्षको बैशाख मसान्तसम्म कुल बीमालेख संख्या ८३ लाख ९७ हजार ७५५ रहेकोमा यस वर्षको सोही अवधिमा ४७.३२ प्रतिशतले बढेर ३४ लाख ५७ हजार १६४ पुगेको छ ।

समितिका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको बैशाख मसान्तसम्म २३ लाख ८१ हजार ४१७ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख १.३९ प्रतिशतले घटेर २३ लाख ४८ हजार २३२ पुगेको छ ।

म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ४९.८५ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५० लाख ७३ हजार ६७९ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६४ लाख ४३ हजार ३४५ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७६ लाख ८५ हजार ५७७ रहेको थियो ।

त्यस्तै, वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २०.०१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको बैशाख मसान्तसम्म ७ लाख १२ हजार १७८ बीमालेख रहेकोमा यस वर्ष बढेर ८ लाख ५४ हजार ६६७ पुगेको छ ।

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि १४.६५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ खर्ब २३ अर्ब ५१ करोड बीमा शुल्क संकलन भएको यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि ११.६४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैशाख मसान्तसम्म ९८ अर्ब ८९ करोड बीमा शुल्क संकलन भएको यस वर्ष १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा पनि २४.६८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैशाख मसान्तसम्म २४ अर्ब ६२ करोड बीमा शुल्क संकलन भएको यस वर्ष ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ४८ लाख १९ हजार ९९५ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड ९ लाख ४१ हजार १७३ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७३ लाख १ हजार २९८ रहेको थियो ।

यसैगरी, म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १५.९९ प्रतिशत रहेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ३९.१२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २६.९२ प्रतिशत जनसंख्या रहेको थियो ।

साथै, म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ३६.२९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख जनसंख्या २४.५३ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ ।

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १४.५८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९२२ रहेकोमा यस वर्ष ३ हजार ३४८ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्यामा पनि १२.३१ प्रतिशतले वृद्धि भएर ११ हजार ८७५ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ५७३ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय