२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । सरकारले रुग्ण उद्योगलाई निजिकरण गरि सञ्चालन गर्ने तयारी गरेको छ । जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा ७ सरकारी उद्योगलाई निजीकरण गर्ने गृहकार्य सुरु गरेको छ । मन्त्रालयले हाल बन्द रहेका रुग्ण उद्योगलाई निजीकरण गरी सञ्चालन गर्ने तयारी उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए ।

उनका अनुसार रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा मन्त्रालयले मोडालिटी बनाएर अन्तिम रुप दिन लागिएको छ । उनका अनुसार गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, बिराटनगर जुट मिल र हेटौंडा कपडा उद्योगलाई निजीकरण गर्नका लागि अध्ययन भइरहेको छ ।

मन्त्री बडूले ती उद्योगहरूमा भएका केही मेसिन मूल्याङ्कन गरेर उद्योग निजीकरण हुनसक्ने बताए । नेपालमा पहिलो पटक २०५० साल पुस १९ गते तत्कालीन राजा बीरेन्द्रले निजीकरण ऐनलाई प्रमाणिकरण गरेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण ऐन ल्याएको थियो ।

नेपालमा पहिलो पटक २०५० साल पुस १९ गते तत्कालीन राजा बीरेन्द्रले निजीकरण ऐनलाई प्रमाणिकरण गरेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण ऐन ल्याएको थियो ।

मन्त्री बडूले विगतमा पनि कांग्रेसले नै निजीकरणको नीति ल्याएको भन्दै अहिले बन्द भएका उद्योग निजीकरण गरी सञ्चालन गर्ने कार्य अगाडि बढाइएको बताए । मन्त्रीका अनुसार सरकारले सेयर बेच्नेबाहेकको अन्य मोडालिटीमा उद्योग सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्रालयका सहसचिव बिशाल सापकोटाले मन्त्रालयअन्तर्गतका बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिए । ‘विगतमा पनि कांग्रेसले निजीकरण गरेको थियो, हामीलाई कौडीको भाउमा उद्योग बिक्री गर्याे भन्ने आरोप पनि लाग्यो,’ मन्त्री बडूले भने, ‘अब हामी जमिन बिक्री गर्दैनौं । जमिन स्थायी सम्पत्ति हो ।’

यसअघि पनि उद्योग सञ्चालनबारे अध्ययन अगाडि बढाइएको थियो । तर, सञ्चालन भने गर्न सकेको थिएन । त्यसैले अबका दिनमा त्यस्ता उद्योग सञ्चालनका लागि तीव्र गतिमा काम अगाडि बढाइने मन्त्रालयको भनाइ छ । बन्द रहेका उद्योग सञ्चालन हुँदा उत्पादनमात्रै नभइ रोजगारीसमेत बढ्ने मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सेयर बेच्ने मोडालिटीबाहेक लामो समय सम्पत्ति लिजमा दिने, सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन गर्नेलगायत अन्य मोडालिटीमा उद्योग सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ । जसमा निजी क्षेत्रलाई संलग्न गराएर उद्योग सञ्चालन गर्ने तयारी गरेको छ ।

कस्तो छ रुग्ण उद्योगको अवस्था

जनकपुर चुरोट कारखाना : २०२१ मा २ करोड ९७ लाख ३० हजार रुपैयाँ पुँजीमा स्थापना भएको जनकपुर चुरोट कारखाना २०६७ सालमा बन्द भएको थियो । अहिले उक्त उद्योगको अधिकृत पुँजी ८ करोड रुपैयाँ छ भने जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख रुपैयाँ छ । कारखानाले वार्षिक नोक्सानी बढ्दै गएपछि बन्द गरिएको थियो ।

दैनिक तीन सिफ्टमा सञ्चालन गर्दा वार्षिक ३ अर्ब खिल्ली चुरोट उत्पादन क्षमता रहेको उद्योगले आर्थिक वर्ष २०७६।७७ मा खुद नाफा १९ लाख रुपैयाँ र आव २०७६/७७ सम्मको सञ्चिति नोक्सान २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ थियो ।

२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ खुद सम्पत्ति घाटामा रहेको उद्योगले सरकारलाई २९ करोड ४६ लाख रुपैयाँ साँवा रकम बुझाउन बाँकी छ । जसमा २ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ ऋण लगानी गरिएको थियो भने सेयर लगानी ४ करोड ८ लाख रुपैयाँ छ । हाल कारखानामा ११ जना करार कर्मचारी रहेको मन्त्रालयको भनाइ छ ।

बुटवल धागो उद्योग : २०३९ सालमा स्थापना भएको बुटवल धागो उद्योग २०६६ सालदेखि बन्द अवस्थामा छ । ६० करोड अधिकृत पुँजी, जारी पुँजी ४५ करोड र चुक्ता पुँजी ५९ करोड ७५ लाख रुपैयाँ रहेको यस उद्योगमा सरकारको २२ करोड २९ लाख रुपैयाँ सेयर छ ।

आव २०७६।७७ को खुद नोक्सान ३ करोड ४३ लाख रुपैयाँ छ भने सञ्चित नोक्सान १ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ छ । खुद सम्पत्ति घाटा १ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ रहेको उद्योगले साँवा १ अर्ब ५५ लाख रुपैयाँ र ब्याज ४१ करोड ६४ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्ने छ । हाल उद्योगमा ५ जना करारमा कर्मचारी छन् ।

गोरखकाली रबर उद्योग : ०४१ सालमा स्थापना भएको गोरखकाली रबर उद्योग २०७१ चैत महिनादेखि बन्द भएको छ । ट्रक तथा नन ट्रक टायर, ट्यूब तथा फ्ल्यापको उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको रबर उद्योगको अधिकृत पुँजी ६९ करोड ९९ लाख रुपैयाँ तथा जारी पुँजी अन्तर्गत साधारण सेयर ३० करोड र अग्राधिकार सेयर १८ करोड रुपैयाँ छ। साथै, चुक्ता पुँजी अन्तर्गत साधारण सेयर २८ करोड ७५ लाख रुपैयाँ र अग्राधिकार सेयर १४ करोड ८६ लाख रुपैयाँ छ । जसमा सरकारको ३८.६३ प्रतिशत सेयर स्वामित्व छ ।

गोरखकाली रबर उद्योगको आव २०७६।७७ मा खुद नोक्सानी १ अर्ब ६ करोड ७० लाख रुपैयाँ र सो वर्षसम्ममा ३ अर्ब ७१ करोड १४ लाख रुपैयाँ सञ्चित नोक्सान छ । त्यसैगरी, उद्योगले २ करोड ३० लाख रुपैयाँ साँवा र ७२ करोड १ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई ऋण बुझाउनुपर्नेछ ।

बिराटनगर जुट मिल्स : जुटका सामानहरू उत्पादन गरी बिक्री तथा रोजगारी सृजना हुने उद्देश्यका साथ १९९३ मा स्थापना भएको थियो । यो नै नेपालको पहिलो उद्योग हो । करिब ७९ वर्षसम्म सञ्चालनमा रहेको उद्योग निरन्तर घाटामा गएपछि २०७२ सालमा बन्द गरिएको थियो । २०७२ सालमा बन्द भएपनि २०७४ सालदेखि भने उद्योगले जुटको डोरी र बोरा उत्पादन गरिरहेको छ ।

२० करोड अधिकृत पुँजी र ११/११ करोड जारी र चुक्ता पुँजी रहेको उद्योग लिजमा सञ्चालन भइरहेको छ । मन्त्रालयका अनुसार आव २०७६।७७ मा उद्योगको खुद नोक्सान ५० करोड र हालसम्ममा सञ्चित नोक्सान ५ अर्ब ७५ करोड २७ लाख रुपैयाँ छ ।

उद्योगले १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ साँवा र ७९ करोड १८ लाख रुपैयाँ ब्याज सरकारलाई तिर्न बाँकी छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थालाई १२ अर्ब ३९ करोड रुपैयाँ साँवा र ब्याजवापत ३ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ तिर्न बाँकी छ । हाल उद्योगमा ३२ जना कर्मचारी कार्यरत छन् ।

नेपाल ओरियण्ड म्याग्नेसाइट : नेपाल ओरियण्ड म्याग्नेसाइट दोलखा लाकुरीडाँडा–७ मा २०३५ सालमा स्थापना भइ २०३६ सालदेखि सञ्चालनमा आएको कम्पनी १० वर्ष नबित्दै बन्द भएको थियो । उत्पादित वस्तुले उचित बजार नपाएको र लागानीकर्ताबीच विवाद भएपछि कम्पनी बन्द भएको थियो ।

यो कम्पनीमा सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको १२.५ प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको १२.५ प्रतिशत लगानी छ । हाल उद्योगका भौतिक संरचना भग्नावशेष अवस्थामा छन् । १० करोड अधिकृत पुँजी, ५० करोड जारी र ४५ करोड चुक्ता पुँजी रहेको उद्योगले आव २०७६।७७ मा १४ करोड ८४ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ ।

त्यसैगरी उद्योगले आव २०७६।७७ सम्ममा ४ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । उक्त उद्योगले ८१ करोड ९५ लाख रुपैयाँ साँवा र १ अर्ब ३८ करोड ८९ लाख रुपैयाँ ब्याज सरकारलाई बुझाउन बाँकी छ । उक्त सो उद्योगमा २० जना कर्मचारी कार्यरत छन् ।

हेटौंडा कपडा उद्योग : हेटौंडा कपडा उद्योगको २०३२ सालमा शुरु भएको थियो । नेपाल र चीन सरकारको संयुक्त लगानीमा स्थापना भएको यो उद्योग २०३५ सालबाट औपचारिकरुपमा सञ्चालनमा आएको थियो ।

देशमै कपडा उत्पादन गरी आयात घटाउने र कपास खेती विकास गर्न मद्दत पुर्याई कृषि उत्पादनमा विविधिकरण एवं रोजगारी वृद्धि गर्ने उद्देश्य लिइ करिब २० करोड रुपैयाँमा स्थापना भएको कपडा उद्योग २०५७ सालयता बन्द अवस्थामा छ ।

नेपाल मेटल कम्पनी : २०३३ मा सरकार, भारतको विडला समूह अन्तर्गतको हैदरावाद इन्डस्ट्रिज लिमिटेड, हङकङको केके वामफोर्ड एन्ड कम्पनी लिमिटेड, खेतान समूह अन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनीको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो ।

अधिकृत पुँजी ३३ करोड, जारी पुँजी २५ करोड र चुक्ता पुँजी १७ करोड ८४ रुपैयाँ रहेको उद्योग आव २०७६।७७ सम्म ४१ लाख रुपैयाँ र ११ करोड ६३ करोड रुपैयाँ सञ्चित नोक्सानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय