काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारलेझैँ आर्थिक बोझ पर्नेगरी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
पूर्व अर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन् । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप समेत लगाए । नेता पौडेलले भने, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”
बजेटमाथि मंगलवारबाट छलफल सुरू भएकाे छ । सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् ।