काठमाडौं । दुई महिनादेखि जनताका हातबाट बैंकिङ प्रणालीमा जान थालेको पैसा बैशाखमा फेरि प्रणालीबाट बाहिरिएको छ। दुई महिनामा जति प्रणालीमा पैसा फर्किएको थियो बैशाखमा त्योभन्दा बढि पैसा प्रणालीबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बैशाखमा प्रणालीबाट १६ अर्ब ३० करोड रुपैयाँ मान्छेका हातहातमा पुगेको छ।
जबकी चेतमा ११ अर्ब २४ करोड र फागुनमा एक अर्ब १४ करोड मान्छेका हातको पैसा प्रणालीमा फर्किएको थियो।
चुनावका कारण मान्छेको हातमा प्रणालीको पैसा पुगेको हो। राष्ट्र बैंकका अनुसार अहिले मान्छेका हातहातमा ६ खर्ब ३५ अर्ब ९० करोड ९४ लाख रुपैयाँ छ। चैतमा ६ खर्ब १९ अर्ब ६० करोड ८३ लाख रुपैयाँ थियो।
बैंक तथा वित्तीय संस्थामा भएको पैसा पनि प्रणालीमा भएको रुपमा नै लिइन्छ। सहकारीलगायत अन्य संघ संस्था र ब्यक्तिका हातमा भएको पैसालाई चलनचल्तिमा रहेको पैसाका रुपमा बुझिन्छ।
सरकारले गत वैशाख ३० गते स्थानीय तहको चुनाव गरेको थियो। चुनावका कारण सरकारी तथा ब्यक्तिगत खर्च उच्च भएको थियो। यसबाहेक महँगिका कारण भएको बचत बाहिर आएका कारण पनि मान्छेको हातमा जाने रकम बढी देखिएको हो।