काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा बीमाको क्षेत्रमा १२ वटा कार्यक्रम समावेश गरेको छ । बीमाका लागि ठुलो बजेट विनियोजन नभए पनि स्वास्थ्य बीमा बोर्ड र कृषि तथा पशुपन्छी बीमाका लागि भने राम्रै रकम विनियोजन भएको छ ।
सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा विभिन्न शीर्षकमा बीमालाई समावेश गरिएको छ । बजेटमा समाबेश गरिएका बीमा अन्तर्गत निम्न कुराहरु रहेका छन् ।
– सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार, कामदारको सन्ततिको शिक्षा तथा कामदारको परिवारको बीमा गर्न उपयोग गरिनेछ।
– अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूको बीमा गर्ने व्यवस्था मिलाइनेछ।
– श्रमजीवी पत्रकारहरूलाई प्रदान गरिदै आएको दूर्घटना बीमा कार्यक्रमलाई निरन्तरता
– राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
– एक परिवार एक बीमा अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गरिनेछ।
– बीमा महाविपत्ति बण्ड जारी गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ।
– बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्त्वपूर्ण आधारस्तम्भको रूपमा विकास गर्नको लागि गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघु बीमा कम्पनीको स्थापना गरिनेछ।
– बीमा सूचना केन्द्र स्थापना गरिनेछ। बीमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ।
– बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नु पर्ने व्यवस्था मिलाइनेछ।
– निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिनेछ। निक्षेप बीमाको विद्यमान सीमा रु. ३ लाखबाट वृद्धि गरी रु. ५ लाख पुर्याइनेछ।
– कैदीवन्दीहरूको स्वास्थ्य उपचारलाई थप व्यवस्थित गर्न स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिनेछ।
– आयकर प्रयोजनका लागि बीमा प्रिमियम बापत घटाउन पाउने सीमालाई ४० हजार पुर्याएको ।