काठमाडौं । बीमा समितिले अघोषित रुपमा बीमा कम्पनीहरुलाई नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने उद्देश्यले यस्तो गरिएको बीमा समितिले जनाएको छ ।
केहि कम्पनीहरुले मर्जरको संझौता गरिसकेको र केहि मर्जरको सहमतिमा पुगेका हुँदा नयाँ कर्मचारीको नियुक्तिमा रोक लगाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मर्जरमा गएका कम्पनीहरुले नयाँ शाखा विस्तार र नयाँ कर्मचारीको भर्ना गर्दा मर्जरमा समस्या आउने भएकाले यस्तो किसिमको निर्देशन दिइएको हो ।
समितिले मर्जरको प्रकृयाँमा नगएका बीमा कम्पनीहरुलाई पनि यहि हिसावले अगाडी बढ्न निर्देशन दिएको छ । अहिले मौखिक रुपमै निर्देशन दिइएको समितिले जनाएको छ ।
बीमा समितिले गत चैत १० गते पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । पूँजी बृद्धिको निर्णयलाई कार्यान्वयनका लागि बैशाख १० गतेसम्म कम्पनीहरु सँग क्यापिटल प्लान माग गरिएको थियो भने २०७९ चैत मसान्त भित्र तोकिएको पूँजी पुर्याउन निर्देशन दिइएको छ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको छ । कम्पनीहरुले उक्त पूँजी जुटाउन सिधै सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न पाउने छैनन् । बीमा समितिले कम्पनीहरुको संख्या घटाउन मर्जरमा दवाव दिने उद्देश्यले यस्तो निर्देशन दिएको हो ।