२०८१ मंसिर २२ शनिबार

कोमलनाथ अधिकारी सञ्चार जगत्मा कुनै नौलो नाम होइन, उहाँ सक्रिय पत्रकार तथा स्वतन्त्र लेखक हुनुहुन्छ । अधिकारीसँग झण्डै साढे दुई दशक लामो राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रकारितको अनुभव छ । उहाँ छापा तथा विधुतीय दुवै सञ्चार माध्यममार्फत आफ्नो विधा–क्षेत्रमा खारिनुभएको छ । उहाँद्वारा लिखित नेपालमा आमसञ्चार र पत्रकारितामा सहभागिता नामक पुस्तक प्रकाशित छन् । पत्रकारिता अनि स्वतन्त्र लेखनको सेरोफेरोमा केन्द्रित रही अधिकारीसँग गरिएको कुराकानी :
तपाईं पत्रकारिता क्षेत्रमा लाग्ने वातावरण कसरी बन्यो ?
हाम्रो परिवारको पुख्र्यौली पेशा कृषि र पशुपालन भए पनि बुबा घरनजिकैको तत्कालीन श्री कृष्णनगर निम्न माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । उहाँ शिक्षित भएकाले नै होला, दाइ अनि दिदीहरूजस्तै मलाई पनि सानैबाट शिक्षादीक्षा दिइयो । त्यस्तै ४÷५ वर्षको उमेरमा घरनजिकैको श्री जनजीवन उच्च माध्यमिक विद्यालयमा भर्ना गरियो । २०४८ सालमा राम्रो अंक ल्याएर मैले त्यहाँबाटै एसएलसी पास गरें । अनि उच्च शिक्षा अध्ययनका लागि उहाँ भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस भर्ना भएँ । त्यहाँ केही समय अध्ययन गरेर पर्साको ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज जाएँ । वि.सं. २०५४ मा ठाकुररामबाटै स्नातक तह पूरा गरें । त्यसबेलासम्म मैले लेखनकार्यमा धेरै ज्ञान हासिल गरिसकोको थिएँ । त्यसपछि पत्रकारितातर्फ लागें ।
किन र कहिलेबाट यो क्षेत्र रोज्नुभयो ?
म सानैबाट हक्की, विद्रोही स्वाभावको मान्छे हुँ । अन्याय–अत्याचार गर्ने, सहने त परै जावस्, कसैले गरेको पनि थाहा पाएमा, देखेमा त्यसविरुद्ध उत्रिने बानी थियो मेरो । सायद त्यसैले होला म पत्रकारिताप्रति प्रभावित भएँ, र अन्ततः यही पेशा रोजें । फेरि म सानैबाट लेखनमा बढी रुचि राख्थें । अध्ययनको अतिरिक्त विद्यालयमा हुने हाजिरी जवाफ, हिज्जे, कथा, कविता, निबन्ध आदि प्रतियोगितामा पनि उत्कृष्ट हुन्थें । त्यस्तै १०/११ वर्षको उमेरमा नै मैले कथा, कविता प्रस्तुत गर्न थालेको हुँ । पहिलेबाटै धेरैजसो समय अध्ययनमा नै बिताउथें । त्यसैले होला, लेखनपढनमा अब्बल नै थिएँ । पाठ्यक्रमका अतिरिक्त पत्रपत्रिका र साहित्यिक पुस्तक पढ्ने मेरो सानैदेखिको रुचि हो । विशेषतः २०५५ सालबाट त नेपालका धेरै सञ्चारमाध्यममा आबद्ध भएँ ।
पत्रकारितामा औपचारिक थालनी कसरी भयो ?
अध्ययनसँगै म सुरुमा वि.सं. २०५५ मा वीरगन्जबाट प्रकाशन हुने चट्याङ साप्ताहिकको सम्पादक बनें । त्यसको केही समयपछि हेटौंडा आएँ । र वि.सं. २०५७ देखि २०६३ सम्म रेडियो नेपालको मकवानपुर संवाददाताको रूपमा काम गरें । यही अन्तरालमा स्पेसटाइम दैनिक र च्यानल नेपालको पनि मकवानपुर संवाददाता भएर काम गरें । त्यसपछि वि.सं. २०६२ मा हेटौडाबाट प्रकाशन हुने नारायणी दैनिकको प्रधानसम्पादक बनें । त्यहाँसम्म आइपुग्दा स्वतन्त्र लेखनकार्यमा पनि उत्तिकै सक्रिय हुन थालें । यसैगरी मिडिया क्लब मकवानपुरको अध्यक्ष भएर लामो समय काम गरेको अनुभव पनि मसँग छ । पछिल्ला वर्षहरूमा जापान रहेर स्वतन्त्र लेखन र पत्रकारितामा सक्रिय भएँ । म नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सहसचिवसमेत हुँ । हाल जापानबाट नेपालका विभिन्न सञ्चारमाध्यममा समाचार र विचार सम्प्रेषण गर्दै आएको छु । नयाँ पुस्तक लेख्ने पनि तयारीमा छु ।
स्वतन्त्र लेखकचाहिँ कसरी बन्नुभयो नि ?
हुन त झट्ट सुन्दा स्वतन्त्र पत्रकारिता र स्वतन्त्र लेखन उस्ताउस्तै लाग्छ । तर, त्यो होइन । पत्रकारितामा स्वतन्त्र भनिए पनि अघोषितरुपमा ‘मालिकाहरू’ अर्थात् अध्यक्ष, प्रकाशक वा प्रधानसम्पदकको चाहानामा चल्नुपर्ने हुन्छ । त्यसो नभए कि आफूले लेखेको समाचार–विचार छापिदैन÷बज्दैन कि त जागिरबाट हात धुनुपर्छ । स्वतन्त्र लेखकको हकमा यो लागू हुँदैन । यही बुझेर स्वतन्त्र लेखक बनेको हुँ । फेरि स्वतन्त्र भन्ने शव्द आफैंमा स्तरीय छ । जसरी अदालतले स्वतन्त्र भएर न्याय–अन्याय छुट्याउँछ– त्यसैगरी तटस्थ रहने व्यक्तिले अन्याय गर्ने व्यक्ति, समूह वा संस्थामाथि खबरदारी गर्छ । त्यसैले मैले पनि स्वतन्त्रताको मार्ग नै अवलम्बन गरें ।
पत्रकार/लेखकहरू आर्थिक रुपमा कमजोर हुन्छन् भनिन्छ नि ?
हो, विशुद्ध पत्रकार, लेखकहरू आर्थिक रुपमा केही कमजोर हुन्छन् । यो स्वभाविक पनि हो । दलका झोलेको तुलनामा स्वतन्त्र पत्रकार, लेखकको आम्दानीको स्रोत हुँदैन । तर, यसो भन्दैमा स्वतन्त्र पत्रकार, लेखक भोकमरी नै हुन्छन् भन्नेचाहिँ विल्कुल होइन । राम्रा पत्रकार, लेखक पारिश्रमिकबाटै आर्थिकरुपमा सवल भएका छन, हुन्छन् ।
राष्ट्रप्रति स्वतन्त्र लेखकको भूमिका के हुन्छ ?
स्वतन्त्र लेखकको नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी धेरै हुन्छ । अनुकुल–प्रतिकुलबीच आफूलाई सम्हाल्दै नयाँ चेतना विकास, बिस्तार गर्नुपर्छ हामीले । लेखन कलाको अन्तिम उचाइ कहीँ हुँदैन । सगरमाथाजस्तो स्थिर हुँदैन यो– जहाँ चढेपछि लक्ष्य पूरा होस् । लेखक सदा असन्तुष्ट र अतृप्त हुन्छ । केही राम्रो सिर्जना गर्न सक्छु कि भन्ने चिन्ता रहिनैरहन्छ । सर्वप्रथम त स्वतन्त्र लेखन कलात्मक हुनुपर्छ । शब्दले तानोस्, वाक्यले तानोस, विचारले तानोस्, कुनै दर्शनले पनि तानोस् । कुनै नवीनतम दृष्टिकोणले तानोस् । राजनीतिक दहमा हिलो–पानी छ्याप्नेजस्तो कुरा होइन लेखन । यो सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ । लेखक निर्भीक र सत्यपथ चिन्ने हुनुपर्छ । त्यसो गरियो भने राष्ट्रलाई गलत मार्ग लाग्नबाट बचाउन सकिन्छ । यो नै हाम्रो कर्तव्य हो ।
प्रस्तुति : अस्मिता क्षेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय