
नेपालमा बैंकिङ प्रणालीको विकासको इतिहास नै त्यति लामो छैन । विसं १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापनासँगै सुरुवात भएको आधुनिक बैंकिङ प्रणालीले एक स्वस्थ्य नेपालीको आयु पनि पूरा गरिसकेको छैन । यो बीचमा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवामा संख्यात्मक र गुणात्मक दुवै हिसावले उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालको बैंकिङ इतिहासलाई केलाएर हेर्ने हो भने विसं २०४१ सालपश्चात बैंकिङ क्षेत्रमा निजी क्षेत्रको उपस्थितिसँगै विभिन्न आधुनिक बैंकिङ सेवा, सुविधाले प्रवेश पाएका हुन् । यिनै आधुनिक बैंकिङ सेवा अन्तर्गत अटोमेटेड टेलर मेसिन –एटिएम) एक महत्वपूर्ण र सशक्त माध्यमको रुपमा स्थापित भएको छ । नेपालमा सन् १९९० मा पहिलो पटक क्रेडिट कार्ड निस्कासन गरेको हिमालयन बैंकले सन् १९९५ मा पहिलो पटक एटिएम मेसिन सञ्चालनमा ल्याएको थियो ।
आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिकको तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा बैंक तथा वित्तीय संस्थाले कुल १ हजार ९ सय ८५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेका छन् भने कुल ४८ लाख ४८ हजार ५३ बटा एटिएम डेबिट कार्ड तथा ५८ हजार ९ सय ३२ वटा क्रेडिट कार्ड प्रयोगमा रहेका छन् । यसका अलावा विभिन्न व्यापारिक प्रतिष्ठानमा वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीका लागि प्रयोग गर्न सकिने हजारौं पस (प्वाइन्ट अफ सेल) मेसिनसमेत सञ्चालनमा रहेका छन् । जसरी नेपालमा एटिएम कार्डको प्रयोग बढिरहेको छ, त्यसैगरी यस क्षेत्रमा निहीत जोखिमको मात्रा पनि बढिरहेको छ । विसं २०६८ सालदेखि नेपालमा एटिएम ठगीका घटना देखिएको भएता पनि विसं २०७१ देखि यता यस्ता घटना निकै बढ्दै गएका छन् । एटिएम ठगीमा नागरिकहरूको संलग्नता बढ्दो पाइएको छ । उनीहरूले विभिन्न माध्यम तथा उपकरण प्रयोग गरी ग्राहकको गोप्य पिन र कार्ड नम्बर चोरी गरेर पैसा निकाल्ने गरेको भेटिएको छ ।
यसरी पछिल्लो समयमा एटिएमबाट पैसा चोरीका घटना बढ्दै गएपछि केन्द्रीय बैंकले एटिएम कारोबारलाई थप सुरक्षित र विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशनसमेत दिँदै आएको छ । केन्द्रीय बैंक एवं बैंक तथा वित्तीय संस्थाले नेपालका एटिएम प्रयोगकर्तालाई सूसूचित गर्नका लागि विभिन्न प्रयास गरेको देखिन्छ । एकातर्फ सुरक्षित एटिएम कारोबारका लागि प्रयास भएका देखिन्छन् भने अर्कोतर्फ एटिएमबाट पैसा चोरी भएका तथा चोरी गर्ने प्रयास गरेका समाचार पनि सुन्नमा आइरहन्छन् । ‘आफ्नो थैली बलियो गरे अरुलाई दोष दिनु पर्दैन’ भन्ने नेपाली उखान अनुसार सबैभन्दा पहिले एटिएमका प्रयोगकर्ताले यस प्रकारको जोखिमबाट बाँच्नका लागि अपनाउन सकिने सामान्य सजगता अपनाउनु आवश्यक छ । कतिपय एटिएम प्रयोगकर्ता यसबारे अनविज्ञ रहेर वा हेलचक्र्याइ गरेर वित्तीय नोक्सानी भोगेका उदाहरण पाउन सकिन्छ । विभिन्न अध्ययनका आधारमा हाम्रो देशमा एटिएम प्रयोगकर्ता निम्न बुँदा मनन गरेको खण्डमा एटिएमको अनाधिकृत प्रयोगबाट हुनसक्ने सम्भावित नोक्सानीबाट बाँच्न सक्छन् :
– एटिएममा कारोबार गर्दा कुनै पनि अपरिचित व्यक्तिसँग मद्दत लिनु हुँदैन ।
– एटिएममा कारोबार गर्नुभन्दा अगावै एटिएममा वा एटिएम रहेको कोठाभित्र कुनै संदिग्ध उपकरण रहे–नरहेको सरसर्ती निरीक्षण गर्नुपर्दछ । कुनै कुरा अस्वभाविक लागेको खण्डमा कारोबार नगरी तुरुन्त बैंकलाई जानकारी गराउनु पर्दछ ।
– एटिएममा कारोबार गर्दा एटिएम मेसिनको स्क्रिनलाई आफूले मात्र देख्ने गरी आफ्नो शरीरले छेक्दा आफूले गरेको कारोबार अरुले हेर्न पाउँदैन ।
– आफूले कारोबार गर्दै गर्दा अरुलाई एटिएम बुथमा प्रवेश गर्न दिनु हुँदैन ।
– यदि एटिएम मेसिनमा कार्ड अड्कियो भने तुरुन्त आफ्नो बैकमा सम्पर्क गर्नु पर्दछ ।
– आफ्नो कारोबारको रसिद, मिनी स्टेटमेन्ट वा ब्यालेन्स इन्क्वाइरी रसिद जस्ता कागजात आफूसँगै सुरक्षित राख्नु पर्दछ । फाल्नै परेको अवस्थामा च्यातेरमात्र फ्याक्ने बानी बसाल्नु राम्रो हुन्छ ।
– आफुसँग रहेको एटिएम कार्ड सदैव सुरक्षित राख्नु पर्दछ । कार्ड हराए वा चोरी भएमा यथाशीघ्र सम्बन्धित बैंकको कार्ड शाखामा सम्पर्क गरी कार्ड ब्लक गराउनु पर्दछ ।
– आफ्नो एटिएम कार्ड आफूबाहेक अरुलाई प्रयोग गर्न पनि दिनु हुँदैन ।
– मोबाइलसँगै एटिएम कार्ड राख्दा एटिएम कार्ड बिग्रिने सम्भावना हुन्छ । त्यसैले एटिएम र मोबाइल सँगसँगै राख्नु हुँदैन ।
– आफ्नो व्यक्तिगत पहिचान नम्बर (पिन) कसैलाई भन्नु हुँदैन । उक्त पिनबारेमा आफूलाई बाहेक अन्य कसैलाई पनि थाहा नहुने हुँदा जो कोहीले सोधेको खण्डमा पनि भन्नु हुँदैन ।
– पिन समय समयमा परिवर्तन गर्न आवश्यक छ । यदि कसैले पिन पाएको शंका लागेको अवस्थामा तुरुन्तै पिन परिवर्तन गर्नु पर्दछ ।
– पिन राख्दा सहजै अनुमान लगाउन सक्ने जस्तै टेलिफोन नम्बर, जन्ममिति, घर नम्बर वा प्रख्यात मिल्ने नम्बर (११११, १२३४ इत्यादि) जस्ता अरुले सजिलै अनुमान गर्न सक्ने नम्बर राख्नु हुँदैन । आफ्नो पिनलाई कहीं लेख्ने, ब्याग वा पर्समा राख्ने गर्नुभन्दा सम्झने बानी बसाउनु पर्दछ ।
– एटिएम कार्ड नम्बर र पिन दुवैको संयोजनबाट कारोबार गर्न सकिने हो । आजकाल विभिन्न सेवा प्रदायकले कम्प्युटर वा मोवाइलमा विभिन्न सफ्टवेयर उपलब्ध गराएका छन् जसको माध्यमबाट विभिन्न सेवाको खरिद तथा भुक्तानी गर्नका लागि एटिएम कार्ड नम्बर तथा पिनवाट समेत कारोवार गर्न सकिने हुँदा पिनको साथ साथै कार्ड नम्बर समेत गोप्य राख्नु पर्दछ ।
– आधुनिक बैंकिङ सेवा अन्तर्गत बैंकले प्रदान गरेको एसएमएस, मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत आफ्नो कारोबार समय समयमा जाँच गर्नु पर्दछ । प्राय बैंकले प्रदान गर्ने एसएमएस सेवाबाट आफूले कुनै कारोबार गर्ने बित्तिकै आफ्नो मोबाइलमा एसएमएस आउने व्यवस्था मिलाए आफू बढी सुरक्षित हुन सकिन्छ ।
– कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले समय समयमा आफ्नो बैंक स्टेटमेन्टलाई जाँच गर्नु आवश्यक हुन्छ ।