केही साताअघि नेपाली कांग्रेसका सांसद धनराज गुरुङले व्यवस्थापकीय संसद्मा दुई वर्षभित्र नेपालमा अहिले प्रचलनमा रहेको नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन् । यस प्रस्तावमा उनले विद्युतीय मुद्राको प्रचलनले नेपालमा रहेको सबै प्रकारका आर्थिक भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने र व्यक्तिको आम्दानी र खर्च पारदर्शी भई लोककल्याणकारी राज्य स्थापना हुने तर्क अगाडि सारेका छन् । यो त्यति सजिलो काम पक्कै होइन ।
यसका लागि जटिल तर सुरक्षित भौतिक र सूचना प्रविधिको पूर्वाधारको आवश्यक हुन्छ । जनसंख्याको लगभग आधा हिस्साले मात्र इन्टरनेट चलाउने र करिब २२ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीमा रहेका अति कम विकसित भनेर सूचीकृत नेपालमा अबको दुई वर्षभित्रमै नोटलाई विद्युतीय मुद्राले पूर्णरूपमा विस्थापन गर्न सकिएला ? बहसको विषय बन्न सक्छ । तर, कति भन्न सकिन्छ भने नेपालमा अहिले विद्युतीय भुक्तानीका माध्यमको लोकप्रियता र प्रयोग बढ्दो छ । नेपाल टेलिकम, विद्युत प्राधिकरण र अन्य धेरै सार्वजनिक र नीजि कार्यालयले आफूले प्रदान गर्ने सेवाको शुल्क विद्युतीय माध्यमबाट भुक्तानी लिने प्रबन्ध गरेका छन् र त्यसको प्रयोग पनि भइरहेको छ । केही समय पहिले साझा बसको भाडा स्मार्ट कार्डको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था लागु गरिएको छ । नेपालका सहरी क्षेत्रमा रहेका धेरैजसो होटेल, रेस्टुराँ, सपिङ् मल र अन्य व्यापारिक प्रतिष्ठानले भुक्तानीका लागि डेबिट, क्रेडिट वा स्मार्ट कार्ड र अन्य विद्युतीय माध्यमलार्ई स्वीकार गर्छन् । नेपाल विद्युतीय मुद्रा अवलम्बनको दिशामा अगाडि बढेको संकेत गर्ने यी केही उदाहरण हुन् ।
अहिले धेरै नेपालीसँग बैंकले उपलब्ध गराउने एटीएम कार्ड छ । धेरैले अन्य प्रायोजनको लागि यो कार्डको प्रयोग नगर्लान् तर बैंकबाट नगद झिक्नको लागि त गर्छन् नै । विद्युतीय मुद्राकै रुपमा लिन सकिने यी माध्यम जति सहज र सरल लाग्छन् सुरक्षाका दृष्टिले उति नै चुनौतीपूर्ण पनि छन् । केही महिना अगाडि नेपालका एटीएमबाट पैसा चोरी गर्न विदेशी नागरिकसमेत सक्रिय रहने गरेको घटना सार्वजनिक भएको थियो । नगद हराउँदा वा चोरी हुँदा नगदमै मात्र सीमित हुन्छ तर विद्युतीय माध्यममा रकमका साथै महत्वपूर्ण व्यक्तिगत सूचनासमेत हराउन वा चोरी हुनसक्ने जोखिम रहन्छ । तसर्थ, विद्युतीय मुद्राको प्रयोग गर्दा सुरक्षा सतर्कता सबैभन्दा पहिले र सधैँ अपनाउनु पर्छ । यहाँ नेपालमा बढी प्रयोग हुने विद्युतीय मुद्राका केही सुरक्षा चुनौती र त्यसबाट बच्ने उपायको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
डेबिट वा क्रेडिट वा एटीएम कार्डको अनधिकृत प्रयोग
कुनै असम्बन्धित व्यक्तिले कसैको डेबिट वा क्रेडिट वा एटीएम कार्डको विवरण र सुरक्षा पिन थाहा पाएमा त्यस कार्डको अनधिकृत प्रयोग हुनसक्छ । वस्तु वा सेवा खरिद गर्न वा बैंक खातामा रहेको नगद निकाल्न त्यस्तो अनधिकृत प्रयोग हुने जोखिम रहन्छ । यो जोखिमबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।
– यस्ता कार्डको प्रयोग गर्न अनिवार्य आवश्यक हुने पिन कोड अति गोप्य र सुरक्षित तरिकाले राख्ने । सकेसम्म यो कोड कतै नलेखी र मोबाइल फोन वा अन्य उपकरणमा सुरक्षित पनि नगरी आफैँले सम्झनु राम्रो हुन्छ । बेलाबेलामा यस्तो पिन परिवर्तन गरिराख्ने र कतै भुक्तानी गर्दा वा एटीएममा पिन उल्लेख गर्दा अन्य व्यक्तिले थाहा नपाउने गरी गर्नुपर्छ ।
– सबैजसो बैंकले रकम निकालेको वा राखेको जानकारी मोबाइलमा म्यासेजमार्फत दिन्छन् । यस्तो सुविधा लिँदा आफ्नो कार्डको अनधिकृत प्रयोग भएको छ भने तुरुन्तै थाहा पाई उचित कदम चाल्न सकिन्छ ।
– सकेसम्म जुन बैंकले जारी गरेको कार्ड हो सोही बैंकको मेसिन प्रयोग गर्ने ।
– आफ्नो कार्ड अरू कसैलाई पनि प्रयोग गर्न नदिने ।
– भविष्यका कारोबार छिटो र सरल हुन्छन् भनेर कार्डको विवरण अन्यत्र लेखेर नराख्ने ।
इन्टरनेट बैंकिङका सुरक्षा चुनौती
बैंकहरूले आफ्ना सेवा प्रवाहलाई अधिकतम सुरक्षित गराउने प्रयास निरन्तररूपमा गर्छन् । तैपनि अनेक खाले स्पाइवेयर, भाइरस, ट्रोजन आदिले अनलाइन बैंकिङलाई सधैँ असुरक्षित बनाइरहन्छन् । स्पाइवेयरका माध्यमबाट ह्याकरले प्रयोगकर्ताको महत्वपूर्ण सूचना लिएर विभिन्न कम्पनीलाई दिन सक्छन् । त्यस्तै इमेलमार्फत् विभिन्न प्रकारका भाइरस आई तथ्याङ्क तोडमोड गरिदिन सक्छन् । अनलाइन बैंकिङका सुरक्षा जोखिमलाई कम गर्न पनि निम्नानुसार केही उपाय अपनाउन सकिन्छ ।
– बैंकका आधिकारिक वेबसाइट मात्रै खोल्ने ।
– शंकास्पद इमेल नखोल्ने र नाम, जन्म मिति, पासवर्डजस्ता आफ्ना व्यक्तिगत विवरण सार्वजनिक नगर्ने ।
– अति बलियो पासवर्डको प्रयोग गर्ने र यस्लाई सुरक्षित राख्ने । बेला बेलामा पासवर्ड परिवर्तन गरिरहने र सकेसम्म लेखेर नराख्ने ।
– कार्यालय वा अन्य स्थानमा अरू व्यक्तिले पनि चलाउने वा साइवर क्याफेका कम्प्युटरबाट बैंकको वेबसाइट नखोल्ने ।
– आफूले प्रयोग गर्ने कम्प्यूटरमा राम्रो एन्टिभाइरसको प्रयोग गर्ने ।
– अनावश्यक विज्ञापन र इमेल नखोल्ने ।
मोबाइल बैंकिङ र विद्युतीय वालेटका सुरक्षा चुनौती
बैंक वा अन्य कम्पनीले उपलब्ध गराउने विद्युतीय वालेटका मोवाइल एप्लिकेसनको माध्यमबाट आर्थिक कारोबार गर्ने चलन पनि नेपालमा बढ्दो छ । यस्ता एप्लिकेसन मोबाइल फोनमा इन्स्टल गर्दा फोनमा भएका विवरणमा पहुँच पाउँछन् । यसले मोबाइल फोन जुनसुकै बेला ह्याक हुनसक्ने खतरा रहिरहन्छ । तसर्थ, मोबाइल फोनका एप्लिकेसनको माध्यमबाट आर्थिक क्रियाकलाप गर्दा पनि निकै होसियारी अपनाउनुपर्छ ।
– एप्लिकेसन इन्स्टल गर्दा कस्ता कस्ता विवरणमा पहुँच मागेको छ विचार गर्ने ।
– युजरनेम र पासवर्ड सकेसम्म कतै पनि लेखेर नराख्ने ।
– काम सकिएपछि अनिवार्य लगआउट गर्ने ।
– अनावश्यक रूपमा देखापर्ने पप अप नखोल्ने ।
– इमेल, वालेट र अन्य एप्लिकेसनको लागि एउटै पासवर्ड नराख्ने ।
– आर्थिक कारोबार गर्दा दुई तीन पटक हेरेर कन्फर्म गरेरमात्र गर्ने ।
– मोबाइल फोनमा राम्रो खालको एन्टिभाइरस राख्ने ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs