
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए र उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ । विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल पोखरेल डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक मत ल्याई विजयी समेत भएका थिए ।