काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा र एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ । बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत बिक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ ।
यसैक्रममा उद्योगले काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका–१४ मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि २०७८ चैतदेखि सञ्चालनमा आएको हो ।
उद्योगले स्वदेशमा नै गुणस्तरीय सामान उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्तामाझ पु¥याउने लक्ष्य लिएको जानकारी गराएको छ । उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले स्वदेशी स्रोत साधनको उपयोग गरेर उद्योगले उत्पादन गरिरहेको बताए ।
उनले नेपालमा उत्पादन हुने टिनको क्यानबाहेक अन्य सामग्री स्वदेशी नै प्रयोग गरेको र समग्र स्रोत साधनको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको बताए ।
उद्योगले स्ट्रलाइज बदाम मिल्क बनाउने उद्देश्यले २० करोडको लगानीमा बुटवल–१४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि स्थापना गरेको छ । २०७८ माघदेखि आफ्नो उत्पादन सुरु गरेको यो उद्योगले दैनिक दुई हजार लिटर दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ ।