काठमाडौं । चालू आव २०७८/७९ को जीडीपीमा प्राथमिक क्षेत्रले २४.५ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। गत आव २०७७/७८ को तुलनामा चालू आवमा प्राथमिक क्षेत्रको कुल मुल्य अभिवुद्धि दर स्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। चालु आवमा धानबालीको उत्पादनमा आएको ह्रासका कारण यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा कम वृद्धिदर रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। प्राथमिक क्षेत्र अन्तर्गत कृषि, वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्र पर्छन्।
त्यसैगरी, द्धितीय क्षेत्र चालु आवको जीडीपीमा द्धितीय क्षेत्रले १३.७ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा द्धितीय क्षेत्रको कुल मूल्य अभिवृद्धिदर स्थितर मूल्यमा १०.२९ प्रतिशत वृद्धि हुने अनुमान विभागको छ। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत उत्पादन सुरुसँगै निर्माण कार्यमा तथा औद्योगिक उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ। द्धितीय क्षेत्रमा उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन्।
यस्तै, चालु आवको जीडीपीमा सेवा क्षेत्रले ६.१८ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। अघिल्लो आवको तुलनामा चालु आवमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.९३ प्रतिशत हुने अनुमान गरिएको छ। कोभिड १९ महामारीले ऋणात्मक भएका आवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलाप र व्यापार तथा निर्माण क्षेत्रका आर्थिक क्रियाकलापमा वृद्धि भएको विभागले जनाएको छ। व्यापार तथा निर्माण क्रियाकलापमा भएको वृद्धिको कारण सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढी भएको विभागले जनाएको छ।
चालु आवको जीडीपीमा कृषि क्षेत्रले २३.९५ प्रतिशत र गैर कृषि क्षेत्रले ७६.०५ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। चालु आवको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
त्यसैगरी, गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। चालु आवको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रले २३.९५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान विभागले गरेको छ। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिएको छ।
जीडीपीमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको रहेको छ। यस क्षेत्रले जीडीपीमा १६.४० प्रतिशत योगदान पुर्याउने अनुमान विभागको छ।
चालु आवको जीडीपीमा खानी तथा उत्खनन् क्षेत्रले ०.५८ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। यस क्षेत्रमा अघिल्लो आवको तुलनामा यस वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ८.१५ प्रतिशतले वृद्धि हुने विभागले जनाएको छ।
चालु आवको जीडीपीमा उद्योग क्षेत्रले ५.६५ प्रतिशत योगदान दिने बताइएको छ। गत आवको तुलनामा चालु आवमा कुल मूल्य अभिवृद्धि ६.१४ प्रतिशतले वृद्धि हुने अनुमान विभागले गरेको छ।
यस्तै, चालु आवको जीडीपीमा विद्युत, ग्याँस, स्टिम तथा वातानुकिलत आपृर्ति सेवाले १.३७ प्रतिशत योगदान दिने भएको छ। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आवको तुलनामा यस आवमा ३६.६७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
चालु आवको जीडीपीमा पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुन: उत्पादनका क्रियाकलाप क्षेत्रले ०.५१ प्रतिशत योगदान दिने भएको छ। निर्माण क्षेत्रले जीडीपीमा ६.१७ प्रतिशत योगदान दिने विभागले जनाएको छ।
कोरोना महामारीका कारण निर्माणाधीन आयोजनामा विश्वबजारबाट उपकरण तथा सामाग्रीको आपूर्तिमा भएको अवरोध हट्नुका साथै निर्माण सामाग्रीको आयात तथा उत्पादन समेत वृद्धि भएकाले निर्माण क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने बताइएको छ।
त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्रले ५.९८ प्रतिशत योगदान जीडीपीमा पुग्ने भएको छ। कोरोनाकै कारण विश्वव्यापी रुपमा आवतजावतमा भएको अवरोध तथा त्यसको असर न्यून भएपनि यस क्षेत्रको मूल्य अभिवृद्धि स्थिर मूल्यमा अघिल्ला सामान्य वर्षको अवस्थामा फर्किन नसकेको विभाले जनाएको छ।
आवास तथा भोजन सेवा क्षेत्रले जीडीपीमा १.६५ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। आन्तरिक पर्यटनमा कोरोना महामारीको संक्रमण प्रभाव कम हुँदै गएको गत आवको तुलनामा पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको कारणले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव पर्दै गएको विभागले जनाएको छ।
यस्तै, सूचना तथा संचार क्षेत्रले जीडीपीमा २.०९ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। वित्तीय मध्यस्थता क्षेत्रको योगदान ६.८६ प्रतिशत रहेको अनुमान विभागको छ।
त्यसैगरी, घरजग्गा कारोबार सेवाको योगदान जीडीपीमा ८.७९ प्रतिशत रहने अुनमान गरिएको छ। पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रले ०.९९ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप क्षेत्रले ०.७८ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले ७.७३ प्रतिशत योगदान जीडीपीमा पुर्याउने अनुमान विभागको छ।
जीडीपीमा शिक्षा क्षेत्रले ८.१ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यले १.७९ प्रतिशत, अन्य सेवा क्रियाकलापहरुले ०.६१ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ।