
काठमाडौं । गत महिना राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण यतिबेला बजारमा खाना पकाउने ग्यासको अभाव भएको छ। व्यवसायीले पेट्रोल-डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै समायोजन गर्नु पर्ने माग राखेर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए। यसैको ‘साइड इफेक्ट’ स्वरुप यतिबेला उपभोक्ताले ग्यास खरिद गर्नका लागि साता दिनसम्म कुर्नुपर्ने अवस्था आएको छ।
दुई/चार दिनमा बजारमा ग्यासको अभाव हट्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीले बताए। गत चैतमा पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो। त्यसले गर्दा अहिले ग्यासको अभाव भएको छ।
अहिले ग्यासको आयात बढेर आउन थालेको छ। जसमा पहिलेभन्दा २० प्रतिशत बढी आयात भइरहेको छ। हाल दैनिक १२० देखि १२५ वटा ग्यासको बुलेट आइरहेको छ। यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो। गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएको हुँदा केही समयको लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले बताए।
अबको साता दिनभित्र उपभोक्ताले सहज रुपमा ग्यास पाउने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए। ग्यासको आयात दैनिक रुपमा भइरहेको जानकारी दिए। निगमले यो महिनालाई करिब ५० मेट्रिक टन ग्यासको पीडीओ जारी गरेको छ। जसमा २२ तारिखसम्म करिब ३२ देखि ३३ मेट्रिक टन ग्यासको पीडीओ गइसकेको छ।