
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक संकट निवारणका लागि पर्यटन क्षेत्रमा चाल्नुपर्ने आवश्यक कदमबारे अर्थ मन्त्रालयलाई सुझाव दिएको छ। यस अन्तर्गत तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजनासहितको सुझाव दिएको छ। विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले अध्ययन गरेर यस्तो सुझाव दिएको हो।
पर्यटन प्रवर्द्धनबाट विदेशी मुद्राको संकट टार्न सकिने निष्कर्ष राष्ट्र बैंकको छ। मुलुकको अर्थतन्त्र नै खस्किँदो अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले पर्यटन क्षेत्रमार्फत सम्भावित विकल्पका लागि सुझाव दिएको हो। यस अन्तर्गत नेपाल भ्रमण वर्षका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेदेखि मेडिकल टुरिजमको प्रवर्द्धन जोड दिन आवश्यक रहेको जनाएको छ।
मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइँदै आइएको पर्यटन क्षेत्र प्रवर्द्धन लागि तत्काल नेपाल भ्रमणमा आउने पर्यटकका लागि भिसा तथा नवीकरण, प्रवेश, रोल्टी लगायत शुल्क अनलाइनमार्फत गराउन आवश्यक रहेको जनाइएको छ। विभिन्न गन्तव्यको पहिचान र सूचना नेपाल पर्यटन बोर्डमा एउटै आधिकारिक साइटमा राख्दा पर्यटकलाई थप सहज हुने जनाएको छ।
भ्रमणमा आउने सबै वर्गका पर्यटकलाई ध्यानमा राखि तत्काल होटल तथा रिसोर्टको क्षमता अनुसारको स्तर र मापदण्ड तोक्नुपर्ने राष्ट्र बैंकले सुझाव दिएको छ। विदेशी पर्यटकको आगमन वृद्धिका लागि विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगसँगको समन्वय थप प्रभावकारी हुन आवश्यक रहेको जनाइएको छ।
मुलुकको सुरक्षित, गुणस्तर र मितव्ययी पर्यटनको प्रचार प्रसारका लागि सम्बन्धित निकायले जोड दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ। विदेशी पर्यटकको प्रवल सम्भावना रहेका मुलुकमा नेपाल वायुसेवा निगमको एयर कनेक्टिभिटी जोड्न आवश्यक रहेको पनि राष्ट्र बैंकले जनाएको छ।
पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै नेपाल दुरसंचार प्राधिकरणको सहकर्यमा यातायात र पर्यटकीय स्थलमा नि:शुल्क इन्टरनेटको व्यवस्था गर्न राष्ट्र बैंकले भनेको छ।
यसैगरी मध्यकालिन योजना अन्तर्गत निजी क्षेत्रको सहभागितामा मुलुकको पर्यटन प्रचार प्रसार गर्न आवश्यक रहेको भन्दै राष्ट्र बैंकले यस अन्तर्गत भ्रमण वर्ष अन्तर्गतका कार्यक्रमहरु क्रमिक रुपमा अगाडि बढाउनका लागि सुझाव दिइएको छ।
दीर्घकालिन योजना अन्तर्गत हालै फस्टाउँदै आएको साहसिक पर्यटकीय गतिविधि हुने गन्तव्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने राष्ट्र बैंकको सुझाव छ।
स्थानीय पर्यटन परियोजना विकासका लागि स्थानीय तहको समेत साझेदारी हुन आवश्यक रहेको र रामारोशन, खप्तड, रारा लगायत विभिन्न सम्भावना बोकेका गन्तव्यलाई व्यापारीकरण नगरी हिलिङ, मेडिटेशन, वेलनेस पर्यटनको अवधारणामा प्रवर्द्धन गर्न आवश्यक रहेको राष्ट्र बैंकको सुझावमा उल्लेख छ। राष्ट्र बैंकले एक अध्ययन गरी यो सुझाव दिएको हो।
भ्रमणमा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि तालिम, अभ्यास, आराम लगायत गतिविधि विस्तार गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ। पछिल्लो समय क्रिकेट खेलमा कायम हुँदै आएको उपलब्धीलाई थप प्रवर्द्धनका लागि क्रिकेट मैदान निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा आयोजना गर्न भनिएको छ।
यसैगरी जलविहार पर्यटनका लागि नारायणी तथा कोशी र र्याफ्टिङका लागि कर्णाली र भेरी नदीमा व्यवसायिक र्याफ्टिङ सुरु गर्न भनिएको छ। यसैगरी नेपाल वायुसेवा निगमको व्यवसायिक र वित्तीय सुधार गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आक्रामक बनाउने सुझाव दिइएको छ। तयार गरिएको विवरण अनुसार सरकारी कर्मचारीको भ्रमणका लागि निगमकै हवाई यातायात सेवा अनिवार्य गराइनु पर्ने पनि सुझावमा उल्लेख छ।