
पृथ्वीमा मानवको उत्पत्ति हुनुभन्दा अगाडि नै जिवाणु (व्याक्टेरिया) र विषाणु (भाइरस)हरुको उत्पत्ति भएको हो । करिब साढे ३ अर्व बर्षअगाडि व्याक्टेरिया, डेढ अर्व बर्षअगाडि भाइरस र १ लाख ३० हजार बर्षपहिले मानवको उत्पत्ति भएको भएको मानिन्छ । त्यहि बेलादेखि मानव समुदाय विभिन्न प्रकारका जिवाणु विषाणु ढुषि र परजिवीहरुद्वारा घेरिएर अस्तित्वमा रहेको छ । सबैजसो जिवाणु विषाणु र परजिवीहरुले रोग लगाउँदैनन्, कतिपय मानवजातीका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जिवाणु वा विषाणुहरुले कहिलेकाही महामारीको रुप पनि लिन्छन् । मानवजातिले उत्पत्ति भएदेखि नै त्यस समयका विभिन्न तरिका र प्रविधि अपनाएर महामारीलाई पराजित गर्दै आफ्नो अस्तित्व रक्षा गर्दै आईरहेको छ । हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी पनि आजसम्म इतिहासमा उल्लेख भएका दर्जनौँ महामारी मध्येको एउटा हुने निश्चित छ । मानवजातीले यस महामारी लाई पनि अवश्य नै पराजित गर्नेछ ।
विश्व चर्चित महामारीहरु र मानवीय क्षति
विफरको महामारी ः भाइरस
(विषाणु) बाट हुने यो रोग विश्वको सबैभन्दा पुरानो र घातक रोग हो जसले पटक पटक संसारभर धेरै मानवीय क्षति पुरयाएको तथ्यांकहरु रहेका छन् । यो करिब ईशापूर्व ८००० वर्ष पहिले देखि सन् १९७९ सम्म रहयो । हाल यो रोग खोपद्वारा उन्मुलन भै सकेको छ । यो रोग लागि सकेपछि करिब ३० प्रतिशत मानिसहरुको मृत्यु हुन्थ्यो । ठूलो संख्यामा अपांगहरु हुन्थे । विफरका कारण संसारमा करिब ८० करोड मानिसको मृत्यु भएको अुनमान छ ।
एन्टोनीयन प्लेग ः यो सन् १६५ देखि १८० सम्म फैलिएको थियो । यसलाई धेरैले विफर वा दादुरा भएको हुनसक्ने भनेर पनि उल्लेख गरेका छन् । यसको मृत्युदर ३० देखि ९० प्रतिशतसम्म रहेको देखिन्छ । यस रोगबाट करिब ५० लाख देखि १ करोड मानिसको मृत्यु भएको अनुमान छ । तत्कालिन रोमका यहि रोगका कारण एक तिहाई जनसंख्याको मृत्यु भएको थियो ।
जस्टिनियन प्लेग ः ईश्वी सम्वत ५४१ ५४२ मा देखिएको थियो । यो जिवाणुबाट हुने रोग हो । जुन संक्रमित उपियाको माध्यमबाट फैलिएको थियो । यो रोग युरोप र पश्चिम एसियामा फैलिएको थियो । यसको मृत्युदर ४० प्रतिशत रहेको थियो । करीव १० करोड मानिसको मृत्यु भएको थियो । युरोपको त्यस त्यस समयको करिव आधा जनसंख्याको मृत्यु भएको अनुमान गरिएको छ ।
ब्ल्याक डेथ (कालो मृत्यु) प्लेगको महामारी ः एसिया र युरोपमा सन् १३४६ देखि १३५३ सम्म फैलिएको यो रोगलाई पनि प्लेग नै भनिएको छ । उपियाको माध्यमबाट सर्ने जिवाणुले गराउने रोग हो । यसको मृत्युदर ३० देखि ९० प्रतिशतसम्म रहेको थियो । यस रोगबाट १० करोड भन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । केही मानिसलाई पनि क्वारेन्टाइनमा राखी बचाइएको थियो । यस समयमा पनि यो रोगबाट ३० देखि ६० प्रतिशत युरोपको जनसंख्याको मृत्यु भएको थियो । यो महामारीले युरोपको ईतिहासलाई बदलेको थियो भनिन्छ । बाँचेका मानिसहरुले राम्रो ज्याला पाए, कामदारहरु श्रमिकहरुको कमिले गर्दा छिटो छिटो प्रविधिको विकास गरियो ।
कोको लिस्ट्ली ः यो भाइरसद्वारा हुने रोग हो भनि अनुमान गरिएको छ । यसमा रगत मिसिएको पखला हुनुको साथै नाक आँखा र मुखबाट रगत बग्ने हुन्थ्यो । यो रोग सोह्रौँ शताब्दि (१५४०–१५८५ ई स) मा पटक पटक मेक्सिकन साम्राज्यमा फैलियो । जसका कारण करिब २ करोड भन्दा बढी मानिसको मृत्यु भएको थियो । कोको लिस्ट्ली म्याक्सिकोको जनसंख्या कोल्यास्पको प्रमुख कारण बन्यो । हालसालै गरिएको अध्ययनले के भनेको छ भने यो रोगले बनाउने जिवाणु साल्मोनेला को उपसमूह एस प्यारासाइटले गराएको थियो ।
अमेरिकन प्लेग ः यो १६ औँ शताब्दिमा अमेरिकामा फैलिएको महामारी हो । यसमा विफर लगायतका रोगहरु युरोपियनहरुको माध्यमबाट त्यहाँ पुग्यो र मेक्सिको लगायतका पश्चिमी गोलार्धको ९० प्रतिशत आदिवासीहरुको मृत्यु भएको थियो । त्यहि बेलादेखि अमेरिका र मेक्सिकोमा स्पेनिसहरुले आफ्नो साम्राज्य समेत कायम गरे ।
लण्डनमा फैलिएको प्लेगको महामारी ः इस १६६५ देखि १६६६ सम्म संक्रमित उपियाँबाट सरेको यो रोगले १ लाख मानिसको ज्यान लिएको थियो । त्यसबेला लण्डनको जनसंख्याको करिब १५ प्रतिशत मानिसको मृत्यु भएको मानिएको छ ।
मार्सेली ः फ्रान्समा फैलिएको प्लेगको महामारी ईश्वीसम्वत १७२० १७२३ ईसमा फैलिएको थियो । यो महामारीमा पनि करिब १ लाख मानिसको मृत्यु भएको थियो । यो प्लेग मध्यपूर्वबाट पानीजहाजमा खाद्यान्नसँगै पुगेका मुसाहरुका कारण फैलिएको थियो ।
रसियन प्लेग ः सन् १७७० देखि १७७२ सम्म रसियाको मस्कोमा फैलिएको महामारीमा पनि करिब एकलाख मानिसको मृत्यु भएको थियो । त्यसबेला सरकारले कारखानाका कारण प्लेग फैलिएको भनि सबै कारखानाहरुलाई मस्को बाहिर ल्याउने आदेश दिइएको थियो ।
भिरिङ्गी ः सन् १४९० देखि १९२८ सम्म अमेरिकामा उत्पन्न भएको जिवाणुले संसारभर फैलिएर लाखौँ मानिसहरुको मृत्यु भयो । यसको मृत्युदर ८ देखि ५८ प्रतिशतसम्म रहेको थियो । संसारभर सयौँ बर्षसम्म यो रोग जनस्वास्थ्यको समस्याको रुपमा रह्यो । कण्डम र पेनिसिलिन
(प्रतिजैविक औषधि)को प्रयोग पछि यो रोग सामान्य हुँदै गयो ।
हैजाको महामारी ः सन् १८४० देखि १८६० सम्म भारतमा उत्पत्ति भएको हैजाको जिवाणुले संसारभरका लाखौँ मानिसको ज्यान लियो । यसको मृत्युदर ५० देखि ६० प्रतिशतसम्म थियो । एसिया, युरोप, अप्रिका, अमेरिकामा लाखौँ मासिनको मृत्यु भयो । दूषित पानीका कारण यो रोग सर्दछ । अहिले पनि हैजाले गरीब र विकासोन्मुख देशहरुमा प्रतिवर्ष १ लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।
तेस्रो प्लेगको महामारी ः ईसं १८५५ देखि १९५९मा चीन र भारतमा फैलिएको प्लेगले एक करोड भन्दा बढीको ज्यान लिएको थियो । यसको मृत्युदर ३० देखि ९० प्रतिशत थियो । प्लेग विरुद्धको खोप पत्ता लागेपछि त्यसको प्रयोगले लाखौँको ज्यान जोगाएको पाइन्छ ।
स्पेनिस फ्लु ः इसं १९१८ देखि १९२० सम्म चीनबाट फैलिएको एच १ एन १ भन्ने भाइरस संसारभर फैलिएर करिब १ करोड मानिसको मृत्यु भयो । यसको मृत्युदर २० प्रतिशत रहेको थियो ।
एचआईभी एड्स ः पश्चिम अफ्रिकामा सन् १९७८ मा बनमान्छेबाट उत्पत्ति भएको यो भाइरसले अहिले संसारभर फैलिएर धेरैको मृत्यु भएको छ । यस रोगबाट ३ करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान छ । ७ करोड भन्दा बढी मानिस संक्रमित छन् । अझै पनि यो रोग जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ ।
एसियन फ्लु (रुघाखोकी) ः ईसं १९५७ देखि १९५८सम्म फैलिएको एच २ एन २ भाइरसका कारण १० लाख जति मानिसको मृत्यु भएको अनुमान छ । यो भाइरस चीनमा पत्ता लागेको थियो । शुरुमा सिंगापुरबाट पछि संसारभर फैलियो ।
हङ्कङ् फ्लु (रुघाखोकी ) ः सन् १९६८ देखि १९६९ सम्म एच ३ एन २ भन्ने भाइरसका कारण संसारभर करिब १० लाख मानिसको मृत्यु भएको अनुमान छ ।
सार्स कोरोना ः सार्स कोरोना भाइरसको महामारी सन् २००३मा देखाप¥यो । जसका कारण संसारका २६ वटा देशमा फैलिएर ७ सय भन्दा बढी मानिसको मृत्यु भयो ।
स्वाइन फ्लु ः सन् २००९ मा एच १ एन १ भाइरसका कारण महामारी फैलियो जसका कारण १ लाख ५० हजार मानिसको मृत्यु भएको अनुमान छ ।
मर्स कोरोना ः यो भाइरसको महामारी सन् २०१२ मा मध्यपूर्वमा देखाप¥यो । जसका कारण ८ सय बढी मानिसको मृत्यु भयो । मुलत पश्चिम अफ्रिकी मुलुकहरुमा ।
ईवोला भाइरस ः यो भाईरसको महामारी मुलत पश्चिम अफ्रिकि मुलुकहरुमा सन् २०१४ देखि २०१६ सम्म रहयो । यो रोगका कारण ११००० हजार बढी मानिसको मृत्यु भयो ।
पोलियो महामारी ः संसारको पुरानो रोगमध्ये एक हो पोलियो । ईसं १९५२ मा अमेरिकामा भएको पोलियोको महामारीमा ३ हजार भन्दा बढीको मृत्यु भयो भने २१ हजार बढी अपांग बने । १९४० र ५० को दशकमा युरोप अमेरिका र संसारभर ५ लाख बढी मानिसहरुको मृत्यु र अपांग बनेका थिए । हाल यो रोग विरुद्ध खोप प्रयोग गरेर उन्मूलनको पूर्व तयारीमा रहेको छ ।
कोरोना भाइरस (कोभिड १९) ः सन् २०१९ को अन्तिम दिन डिसेम्वर ३१ मा चीनको वुहानमा देखा प¥यो । अहिले विश्वव्यषपी महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई मानव जातिकै लागि संकट भनेर घोषणा गरिसकेको छ र विश्व समुदाय यसका विरुद्धमा आ–आफ्ना ठाँउबाट लडिरहेको छ ।
भाइरस, व्याक्टेरिया र परजिवीहरु कसरी मानिसमा सर्दछन् ?
खाना र पानीमा रोग लगाउने भाइरस व्याक्टेरिया र परजिवीहरु मिसिएर वा दुषित भएर । खेती पाती चरीचरण र पशुपंक्षी पालनका माध्यमबाट । जंगली जनावरको टोकाईबाट । किटजन्य प्राणीहरुको टोकाईबाट । घरपालुवा जनावरहरुको संसर्गबाट र बाताबरणीय असन्तुलनको कारणबाट ।
यस्ताखाले महामारी कसरी नियन्त्रण गर्न सकिन्छ ?
रोगीलाइ आइसोलेसनमा राख्ने वा समूहमा नराख्ने अर्थात क्वारेन्टाइनको तरिका अपानाउने । रोग पत्ता लगाउने । सर्भिलेन्स गर्ने । उपचार गर्ने । खोपहरु लगाउने । बाताबरण सरसफाई र पोषणको अवस्था सुधार गर्ने । खोज अनुसन्धान र प्रविधिको प्रयोग गर्ने । व्यवहार परिवर्तन गर्ने ।
इतिहासको अध्ययनले के बताउँछ भने प्रत्येक महामारीपश्चात पाठ सिक्दै र त्यो महामारी नियन्त्रण कसरी गर्न सकिन्छ भनेर उपाय पनि पत्ता लगाउँदै आएको छ भन्ने देखिन्छ । जस्तै ः पटक पटकका प्लेगको महामारीबाट जोगिन क्वारेन्टाइनको अवधारणा मानव जातिले सिक्यो र त्यो प्रभावकारी पनि देखियो । विफरको माहामारीबाट जोगिन खोप पत्ता लगाईयो जसले गर्दा विफर उन्मुलन नै भयो र अन्य रोगहरुका लागि पनि खोपहरुको प्रयोग गरिदै गयो । भिरिङ्गीको महामारीबाट जोगिन प्रतिजैविक औषधि पत्ता लगाईयो जसले गर्दा यो औषधि अन्य रोगहरुका लागि पनि उपयोगी देखियो । हैजाको महामारीबाट जोगिन खानेपानी तथा ढल व्यवस्थापन र बाताबरणीय सरसफाईमा ध्यान दिईयो भने औलो व्वरो र यलो फिवर जस्ता रोगहरुको नियन्त्रणका लागि किटनासक पदार्थको प्रयोग गरियो ।
विश्वमा यो कोभिड–१९ को महामारी पनि अन्तिम होइन भन्ने बुझ्नु जरुरी छ । बैज्ञानिक र सर्व स्वीकाई उपायहरु अपनाएर यो र अन्य हुनसक्ने माहामारीलाई पनि नियन्त्रण गर्न सकिन्छ । प्रत्येक पटक मानव जातिले महामारीलाई जितेको इतिहास साक्षी छ । पशुपंक्षी, बनजंगल र सुक्ष्मजीवहरुका बीचको सन्तुलन विग्रियो भने स साना जीवहरु नयाँ स्वरुप वा पुरानै स्वरुपमा पनि मानिसलाई आक्रमण गर्न सक्दछ । र, संसारमा महामारी फैलन सक्छ । त्यसैले पृथ्वीको सन्तुलन विगार्ने काई नगरौँ । अझै मानव समुदायले आफ्नो आश्तित्व रक्षाका लागि धेरैवटा महामारीहरको सामना गरी रहनुपर्ने छ । पृथ्वीमा हामी मानव मात्रै छैनौँ भन्ने हेक्का राखी रहनु पर्दछ ।
(डा. गौतम स्वास्थ्य सेवा विभागमा बरिष्ठ स्वास्थ्य प्रशासकको रुपमा कार्यरत छन्)