काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता फागुनसम्मको अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ र्ख ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।
सरकारले पुँजीगत खर्च गर्न सकेन
अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामासंघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ । यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ ।
रेमिट्यान्स आप्रवाह १.७ प्रतिशत घट्यो
आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १.७ प्रतिशतले कमी आई रु ६३१ अर्ब १९ करोड कायम भएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था बारेको ८ महिने समीक्षा रिपोर्टमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणं) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु ७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७।२ प्रतिशतले बढेको थियो ।