काठमाडौं । सरकारले शतप्रतिशत मार्जिन लगाउँदा पनि चैतमा दैनिक ६ अर्ब रुपैयाँ मूल्य बराबरको सामान आयात भैरहेको छ । यसलाई आधार मान्दा एक महिनामा मात्रै १ खर्ब ७५ अर्ब रुपैयाँ मूल्य बराबरको सामान आयात हुने आकलन गर्न सक्ने देखिएको छ । यसैबीच, उच्च आयातले अर्थतन्त्र दबाबमा परेको नेपाल राष्ट्र बैकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले बताएका छन ।
दैनिक ६ अर्ब भन्दा बढीको सामान आयात भइरहेको भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताएका छन । चैतमा पनि अघिल्लो महिनाजस्तै पेट्रोलियम पदार्थ, मोटरसाइकल, गाडी, फलामजन्य कच्चा पदार्थ आयात हुने सूची उच्च रहेको छ ।
शतप्रतिशत मार्जिनको प्रेसकिप्सनले काम नगरेको देखिएपछि हतारहतार राष्ट्र बैंकले तीन सय बस्तुको आयातमा प्रतिवन्ध लगाएको हो । चैतमा आयातको ग्राफ बढेर विदेशी मुद्राको संचिति थप घटेपछि राष्ट्र बैंकले आयातमा प्रतिवन्ध लगाएको थियो ।
तर राष्ट्र बैंकका प्रवक्ता भट्टले अर्थतन्त्र बाहिर आए जस्तो अवस्थामा नरहेको बताएका छन । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने उनको भनाई छ । श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था फरक रहेको उनले बताए । श्रीलंकाको कुल गार्हस्थ उत्पादनको १ सय १७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको धारणा पनि भट्टको थियो ।
उनले कुल गार्हस्थ उत्पादनको १ सय १७ प्रतिशत विदेशी ऋण र कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपाल बीच तुलना गर्न नमिल्ने जिकिर गरे ।
श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादनभन्दा आयात र शेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको पनि बताए ।
पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि केन्द्रीय बैकले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । सोधनान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमि हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको हो ।
मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही वस्तुको आयात रोक लगाउनु परेको प्रवक्ता भट्टले बताएका छन । उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको जानकारी दिए ।
केन्द्रीय बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरेको बताए । उनले बाहिर हल्ला आए जस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको पनि बताए ।
राष्ट्र बैंकसँग ६/७ महीनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिएका छन । पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको र कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र आयात वृद्धि भए पश्चात विदेशी मुद्रा सञ्चिति र सोधनान्तर घाटा बढेको पनि राष्ट्र बैकले भनेको छ ।
अर्थतन्त्रको अहिलको अवस्थालाई दुई ओटा पक्षबाट हेर्न सकिने भन्दै प्रवक्ता भट्टले भने, ‘कुनै पनि कुरालाई एकाङकी रुपमा रुपमा हेर्नु हुँदैन । एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ । मुख्य रुपमा विदेशी विनिमय सञ्चितीमा कमि आएको सोधनान्तर स्थिति घाटा, आयात उच्च दरमा बढेको कारणले गर्दा हाम्रो बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको छ ।
बाह्य क्षेत्र व्यवस्थापन हामीले गर्नै नसक्ने होइन । केही बस्तुको आयातलाई हामीले रोक्न सक्छौं । सुन चाँदी,सवारीसाधन आयातलाई रोक्न सक्छौं ।’ पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको पनि केन्द्री बैंकको भनाई छ ।