
काठमाडौं । अहिले बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९४ प्रतिशतसम्म पुगेको छ। औसत सीडी रेसियो पनि ९२ प्रतिशत हाराहारी छ। असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभित्र ल्याइसक्नु पर्छ। यसैबीच, नेपाल राष्ट्र बैंकले असारसम्म सीडी रेसियो ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने जनाएको छ। २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउन भनेका हुन्।
बैंकरहरुले नै सीडी रेसियोमा अलिकति लचकता अपनाउन भनेका थिए। त्यसको जबाफमा ढकालले ‘त्यो गर्न सकिँदैन। त्यसैले सीडी ९० प्रतिशतभित्र झार्नुस्। नभए कारवाही हुन्छ’ भने।
राष्ट्र बैंकले बैंकहरुले कसरी ऋण दिइरहेका छन् भनेर दैनिक नभए पनि साप्ताहिक रुपमा हेर्ने भएको छ। प्रत्येक बैंकको खाता हेर्ने राष्ट्र बैंकले जनाउ बैंकहरुलाई दिएको छ।
‘ब्याज दरबाट बदमासी गर्नेलाई हामी अब कारवाही नै गर्छौं,’ ढकालले भनेको कुरा उदृत गर्दै एक बैंकरले भने, ‘ऋण अस्वाभाविक रूपमा दिएर सीडी बढाउनेलाई कारवाही हुन्छ।’