
नयाँ पुस्ताका छायाकार खेमराज फुलारालाई नेपालको नामी इञ्जिनियर बनाउने इच्छा अभिभावकहरूको हो । तर, उहाँको ध्यान भने सानैदेखि क्यामेरामा गढियो । यद्यपि उहाँले अग्रज र आफू दुवै पक्षको अपेक्षा पूरा गर्नुभयो । सुरुमा सोखले छायंकन क्षेत्रमा छिर्नुभएका खेमराज क्रमशः यही विधामा रत्तिनुभयो, जम्न सफल हुनुभयो अनि स्थापित नै बन्नुभयो । हाल उहाँ चर्चित र व्यस्त छायाकारको रुपमा चिनिनुहुन्छ । प्रस्तुत छ– यसै सेरोफेरोमा केन्द्रित रही खेमराजसँग गरिएको वार्तालापः
तपाईं कसरी यो क्षेत्रमा पुग्नुभयो ?
मानिसको जीवनयात्रा बढो बिचित्रको हुँदो रहेछ । मेरो अभिभावकहरूको इच्छा मलाई इञ्जिनियर बनाउने थियो । डाक्टर, इञ्जिनियर, पाइलट भनेको ठूलो मानिस हो भन्ने बुझाइ उहाँहरूको थियो । तर, मेरो सानैदेखिको चाहना, सोख भनेको कुशल छायाकार बन्ने रह्यो । हुर्कंदै गएपछि म दोधारमा परें– एकातिर मान्यजनहरूको सल्लाह–सुझावलाई सम्मान गर्नैपर्ने, अर्कातिर आफ्नो उद्देश्य मार्न नसक्ने । त्यसपछि सुरुमा दुवै पाटोलाई सँगसँगै अगाडि बढाउनुपर्ने वाध्यता आइलाग्यो मेरासामु । र, अन्ततः यही क्षेत्रलाई उद्देश्य–गन्तव्य बनाएँ ।
रोजाइकै विधा–क्षेत्रमा आउने माहोलचाहिँ कसरी बनाउनुभयो नि ?
भनिन्छ– जहाँ इच्छा त्यहाँ उपाय । आफ्नो इच्छाअनुरूप सोच बनाएर अघि बढ्यो भने अनेक उपाय निस्कन्छन् । मुलाले पनि त आफ्नो डोब आफैं बनाउँछ नि । मेरो हकमा यस्तै भयो । म नेपालको सदूरपश्चिमको डोटी जिल्लाको पचनाली गाविस–३ चुडी (हाल शिखर नगरपालिका–६) मा जन्मिएको हुँ । सुरुमा घरनजिकैको तत्कालीन श्री सरस्वती माध्यमिक विद्यालयमा ७ कक्षासम्म अध्ययन गरें । त्यहाँ कहिले पहिलो त कहिले दोस्रो भएँ । त्यसपछि थप अध्ययनका लागि काठमाडौं आएर सिनामंगलस्थित जीएचएसएस मा कक्षा ८ मा भर्ना भएँ । त्यहाँबाटै एसएलसी पास गरें । त्यसपछि न्यू समिट कलेज बानेश्वरबाट विज्ञान विषयमा १२ कक्षाको अध्ययन पूरा गरें र बालकुमारीको नेपाल कलेज अफ इम्फोमेसन टेक्नोलोजीबाट सन २०१५ मा इलोक्ट्रोनिक्स् एण्ड कम्युनिकेशन विषयमा इन्जिनियरिङ गरें । यतिसम्म गर्नु भनेको मैले घरपरिवारको सपनालाई अनादार गरिन भन्ने नै हो । अर्कातिर एसएलसीपछि मैले अध्ययनसँगै विभिन्न श्रेणीमा एक वर्ष भिडियोग्राफी सम्बन्धी प्रशिक्षण लिएँ । सुरु/सुरुमा जमघट, विवाह र भोजहरुमा गएँ र भिडियो लिन सिकेँ । त्यसपछि त क्रमशः व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो, सन्देशमूलक भिडियो, टेलिचलचित्र आदिका लागि छायांकन गर्न थालेँ । त्यहाँसम्म आइपुग्दा म एक किसिमले ‘प्रफेक्ट’ भइसकेको थिएँ ।
यो पेशा रोजाइमा परेको–छानेको कति समय भयो ?
औपचारिक रुपमा यो विधा–पेशा अँगालेको त ११/१२ वर्ष भयो । तर, म जतिबेला कक्षा ६/७ मा अध्ययन गर्दथें, त्यतिबेलादेखिकै सोखको विषय हो यो । चलचित्र कसरी र कहाँ खिचिन्छ होला, कसरी तयार हुन्छ होला, अनि कुन प्रकारले देखाइएला भन्ने कौतुहल मेरो दिमागमा आइरहन्थ्यो । क्यामेरा र चलचित्रसम्बन्धी चासो बाल्यकालबाटै बढेकाले आफू पनि भविश्यमा छायाकार नै बन्छु भन्ने लाग्यो । यस्तयस्तैमा विद्यालयको पढाइ सकिनै लाग्दा भने सफल छायाकार/सम्पादक बन्ने शोख जाग्यो । उच्च शिक्षा अध्ययनमा लागेबाट आफ्नो सानैदेखिको सोखलाई पूर्णता दिन लागिपरें ।
आफूलाई कत्तिको सफल छायाकार मान्नुहुन्छ ?
सफलमात्रै होइन, म आफूलाई भाग्यमानी पनि ठान्छु । किनभने मैले छोटो अवधिमा उल्लेख्य उपलव्धि हासिल गरेको छु । मेरो क्षमता भएर त विद्यालय, कलेज, जन्मोत्सव, वार्षिकोत्सव, विवाह, पार्टीभोजमा हुने साँस्कृतिक कार्यक्रमदेखि म्युजिक भिडियो, बृत्तचित्र, टेलिचलचित्र र ठूलो पर्दाको चलचित्रसम्म दिनानुदिन माग बढ्दो छ । यो पेशामा होमिएपछि सदा व्यस्त रहेर नै १२/१३ वर्षको अवधि छोटो बन्न पुग्यो ।
यो क्षेत्रमा लागेर आम्दानीचाहिँ कत्तिको गर्नुभएको छ नि ?
पहिलो पक्ष, पैसा कमाउन मैले छायंकन पेशा रोजेको होइन, पैसा नै सर्व भन्थें त इञ्जिनियरिङबाटै काफी आइहाल्थ्यो नि । दोस्रो पक्ष, प्रत्येक काममा सफलता प्राप्त गर्नका लागि लगनशीलता र निरन्तरता अनिवार्य हुन्छ । रुचिको विषयलाई परिपक्वता ल्याउने भनेकै अनवरत संघर्षले हो । म आफ्नो जिम्मेवारी कुनै कसर नराखी पूरा गर्छु । आफूले लिएको जिम्मेवारीमा झर्काे नमानी सबैसँग मिलेर हाँसी÷हाँसी पूरा गर्दा म धेरैको रोजाइमा पर्छु । त्यसो हुँदा मैले यही पेशाबाट पनि मनग्य पारिश्रमिक पाएको छु । मेरो यस्तै सक्रियताले ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२१’ अन्तर्गत यस वर्षको सर्वोत्कृष्ट छायाकार अवार्ड (वृत्तचित्र) सहित दर्जनौ पुरस्कार, सम्मान पाएको छु ।
अहिलेसम्म तपाईंले कुन–कुनको छायंकन, छायंकन सम्पादन गर्नुभयो ?
मैले काम गरेको ऐतिहासिक र चर्चित ‘लिंगा, कञ्चनपुर’, ‘गोदावरी, कैलाली’, ‘बद्रीकेदार, डोटी’, ‘चुडी, डोटी’ लगायत वृत्तचित्र, दर्जनभन्दा बढी म्युजिक भिडियो र ‘मिसन’, ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ’, आदि टेलिचलचित्र हुन् । समग्रमा अहिलेसम्म एक सयजति व्यक्तिचित्र, त्यति नै वृत्तचित्र, दर्जनभन्दा बढी टेलिचलचित्र र सन्देशमूलक विज्ञापनको छायांकन, सम्पादन गरेको छु । यसका अलावा धेरै औपचारिक÷अनौपचारिक कार्यक्रममा पनि काम गरेको छु । अब छिट्टै मेरो छायांकन÷सम्पादनमा ‘उग्रतारा, डडेल्धुरा’, ‘घटाल, डडेल्धुरा’, ‘शैलेश्वरी, सिलगढी’ ऐतिहासिक वृत्तचित्र र केही टेलिचलचित्र आउँदैछन् ।
प्रस्तुतिः अनामिका कार्की