
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको छ ।
मास्टर सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली अप्रिल ७ मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवर्द्धननात्मक गतिविधिमा संलग्न हुने पाटा नेपाल च्याप्टरले जनाएको छ ।
कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धननात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवं पर्यटन प्रवद्र्धनका कार्यक्रम रहेको पाटा नेपाल च्याप्टरले जनाएको छ । मास्टर सेफहरू अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुने बताइएको छ ।
मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल नामक कार्यक्रमलाई मुख्य प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरका रूपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरका रूपमा नबिल बैंक र हेल्थ पार्टनरका रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । त्यसैगरी बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चरले समेत कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन् ।