काठमाडौं । ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ । ३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कानुनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि हो ।
सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए : आङछेची शेर्पा लुक्ला आउटडोर,ईशा बल्ला सह–संस्थापक/प्रबन्ध निर्देशक– खानपिन, काजोल झा ठाकुर, सह–संस्थापक र प्रबन्ध निर्देशक–ग्लोकल एकेडेमी अफ स्किल्स प्रा.लि.। कृतिका लम्साल, को–वनर–स्वीट फिक्स । सजल मल्ल, द मल्ल इन्क । श्रेया गिरी, संस्थापक/प्रबन्ध निर्देशक –ह्याप्पीमाइन्ड्स । श्रेया कटुवाल, सह–संस्थापक– बिहेनेपाल
उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम चार निर्णायकले छनोट गरेका हुन्। चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक-अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेका छन् । उनीहरुले मार्च २२ का दिन विजयीको नाम छनोट गरेका थिए । जसको घोषणा मार्च ३१ का दिन सानेपास्थित हेरिटज गोर्डेनमा एक भव्य कार्यक्रमकाबीच गरिएको हो ।
‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उनीले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी थिइन् । उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।