काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले ग्लोबल मनी विक मनाएको छ। चैत ७ देखि १३ सम्म परेको ग्लोबल मनी विकअन्तर्गत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको जनाएको छ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल/कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिक लक्षित अन्तर्क्रिया तथा साक्षरता र्यालीहरुको आयोजना गर्दै मनाएको छ।
बैंकले चैत १२ मा काठमाडौंलगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्याली निकालेको जनाएको छ। उक्त र्यालीमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको जनाएको छ।
बैंकले ग्लोबल मनी सप्ताहकै उपलक्ष्यमा काठमाडौं बाहिर लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार र जनकपुर, प्रदेश नं. १ मा इटहरी र बिर्तामोड, सुदूरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरालगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता र्याली निकालेको जनाएको छ।