
काठमाडौं । मेगा बैंकले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ जितेको छ भने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी छन् ।
सिंगापुरस्थित वर्ल्ड बिजनेश आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको
आफूहरुले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको भन्दै मेगा बैंकले गत आर्थिक बर्षमा एक करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त सरकारी कोषहरुमा उपलब्ध गराएको जानकारी गराएको छ । यस वर्ष विभिन्न तहका अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको जनाइएको छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको भन्दै सो बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बताएको छ ।
यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाएकी खुञ्जेलीलाई मेगा बैंंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ ।
नेपालबाट यो अवार्ड जित्ने र सीईओ खुञ्जेली एक्लै हुन । उनले यसैबर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । खुञ्जेलीकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गरेको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेकी हुन् ।