काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्तालाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो ।
यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताले बैंकको मोबाइल एप वा वेभ मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैकले जनाएको छ ।
यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन । बैंकले डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकलाई लाभान्वित गराउन तत्पर रहिआएको पनि उल्लेख छ ।
बैंकले मुलुकभर २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखारहित बैंकिग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।