२०८२ जेष्ठ ४ आईतवार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालनमा आएको ३ वर्ष भएको छ । कम्पनीको स्थापनाकालदेखि नै पोषकराज पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा छन् । सीईओ पौडेलले बीमा क्षेत्रमा प्रवेश गर्नुअघि अडिटको काम गर्थे । सीए फर्ममा काम गरेका पौडेलसँग बहुराष्ट्रिय कम्पनी एलिको इन्स्योरेन्समा १५ वर्ष काम गरेको अनुभव छ । सिटिजन लाइफका सीईओ पौडेलस“ग क्यापिटल नेपालका लागि नबिन पोखरेलले गरेको कुराकानी सान्दर्भिक ठानेर सामान्य सम्पादनसहित साभार गरि प्रस्तुत गरिएको छ :

लामो समय एलिको लाइफमा काम गर्नुभयो । विदेशी कम्पनी र नेपालीमा काम गर्दा कस्तो फरक पाउनुभयो ?
विदेशी बीमा कम्पनीमा अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार काम हुन्छ । यहाँ लोकल चालचलन अनुसारका काम हुन्छ । मैले विगतमा काम गरेको एलीको इन्स्योरेन्स र हालको सिटिजन इन्स्योरेन्समा मेरो भूमिका फरक छ । बहुराष्ट्रिय कम्पनीलाई कतिपय लोकल कामहरू गर्न अफ्ठ्यारो छ । त्यस्तै, लोकल कम्पनीले कतिपय अवस्थामा विदेशीहरूसँग पनि काम गर्नुपर्ने हुन्छ । सोही कारण केही कुराहरू मल्टिनेसनल कम्पनीलाई गर्न सजिलो छ भने केही कुरा लोकल कम्पनीहरूलाई गर्न सजिलो हुने रहेछ । काम गर्ने तौरतरिकामा धेरै फरक हुन्छ ।
सिटिजन लाइफ सञ्चालनमा आएको ३ वर्ष बितिसकेको छ । कम्पनीको अवस्था कस्तो छ ?
हामी नयाँ जीवन बीमा कम्पनीहरूको तुलनामा बलियो छौं । हाम्रो कम्पनीका धेरै सूचकहरूको अवस्था राम्रो छ । नाफा, ग्राहकहरूलाई दिने सेवा तथा लगानीकर्ताहरूलाई दिने बोनस र समग्रमा कम्पनीसँग जोडिएका सबैलाई दिनुपर्ने प्रतिफलका कुरामा हामी राम्रो स्थानमा छौं ।
कम्पनीले आगामी ५ वर्षमा कहाँ पुग्ने व्यावसायिक योजना बनाएको छ ?
नयाँमध्ये सबैभन्दा उत्कृष्ट कम्पनी हुने हाम्रो योजना छ । सूचक सबै बलियो बनाउँदै पुरानो कम्पनीहरूको टक्करमा जाने सिटिजनको लक्ष्य छ । यस्तै हामीले ५ वर्षमा बीमा कोष, बीमा शुल्क कति बनाउने भन्ने लक्ष्य निर्धारण गरिसकेका छौं । हाम्रो ५ वर्षे रणनीतिमा कोरोना महामारीले केही प्रभाव पारेको छ । समग्रमा हेर्दा कसरी व्यवसाय वृद्धि गर्ने भन्ने लगायतका कुरामा केही अलमल भयो । सोही कारण ५ वर्षे बिजनेस प्लानअनुसार काम गर्न केही चुनौती छ । तर, चुनौती भए पनि हामीले आफ्नो निर्धारित लक्ष्य पूरा गर्नेछौं । कोरोना महामारी विस्तारै रिकभर भएको अवस्थामा हामीलाई त्यति धेरै चुनौती पनि छैनन् ।
कोरोना महामारीका बीचमा पनि बीमा कम्पनीहरूको व्यवसाय बढेको देखिन्छ, महामारीले सिटिजनलाई कत्तिको फाइदा पु¥याएको छ ?
कोरोना महामारीले फाइदा पुर्याएको होइन । कोरोना महामारी नआएको भए बीमा व्यवसाय अझ वृद्धि हुन्थ्यो । अन्य क्षेत्रको व्यवसाय वृद्धि भएन । कतिपय व्यवसाय ठीकै चले, कति चल्नै सकेनन् । यस्तो अवस्थामा बीमा व्यवसाय भने राम्रैसँग वृद्धि भएको छ । कोरोना महामारी नभएको भए बीमा कम्पनीहरूको व्यवसाय अझ वृद्धि हुन्थ्यो । जहाँ–जहाँ चुनौती हुन्छ, जोखिम बढ्छ त्यस्ता दुःख परेको ठाउँमा काम लाग्ने भनेको बीमा नै हो । कोरोना महामारीको बेलामा पनि देशलाई दुःख पर्यो, देशलाई गाह्रो भयो । त्यस्तो अवस्थामा विश्वमा काम लाग्ने कुनै पनि एउटा चिज छ भने त्यो बीमा नै हो । गाह्रो साह्रो पर्दा सरकारले हेर्छ कि त बीमा कम्पनी नै चाहिन्छ । व्यक्तिलाई गाह्रो पर्दा विभिन्न उद्योग धन्दामा क्षति हुँदा बाढी आउँदा बीमाले नै हेर्ने हो । जब जोखिम बढ्छ त्यति बेला इन्स्योरेन्सको बजारले पनि सकारात्मक सन्देश दिन्छ ।
अन्य क्षेत्रमा जोखिम बढेकै कारणले बीमा व्यवसाय वृद्धि भएको हो ?
जोखिमको कारणले पनि हो । जोखिम सँगसँगै अन्य कारणले पनि बीमा व्यवसायमा वृद्धि भएको छ । तर, जोखिम बढेकाले मात्रै व्यवसाय बढेको होइन ।
जीवन बीमा कम्पनीहरू धेरै आएका छन् । बजार पनि विस्तार हुँदै गएको छ । प्रतिस्पर्धा कतिको छ ?
प्रतिस्पर्धा त अहिले हरेक क्षेत्रमा छ । प्रतिस्पर्धा नभएको क्षेत्र नै छैनभन्दा पनि हुन्छ । बैंकिङमा पनि प्रतिस्पर्धा छ । प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन । प्रतिस्पर्धाले दिने सेवाको गुणस्तरमा वृद्धि हुन्छ । मूल कुरा प्रतिस्पर्धा स्वस्थ छ कि छैन भन्ने हो । ग्राहकलाई त्यसले दीर्घकालमा कति असर पार्छ भन्ने कुरा मुख्य हो । प्रतिस्पर्धा नभएका व्यवसाय कमै हुन्छन् । प्रतिस्पर्धा नै नभएका व्यवसायहरू दीर्घकालसम्म चल्न सक्दैनन् ।
१० वटा जीवन बीमा कम्पनीलाई एक साथ सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिएपछि नियामक बीमा समितिले मर्जरमा जानुपर्छ भन्न थालेको छ । मर्जरमा जाने बेला आएकै हो ?
मर्जरमा जाने समयले निर्धारण गर्ने कुरा हो । भोलि व्यवसायमा नकारात्मक असर पर्दै गयो र मर्जरमा जाँदा राम्रो हुने भएका मर्जरमा जानुपर्ने अवस्था पनि आउन सक्छ । कम्पनीले राम्रो नतिजा निकाल्न सक्छ, ग्राहकहरूले पाउने सेवा सुविधामा वृद्धि हुन्छ भने बीमा कम्पनीहरू मर्जरमा जान सक्छन् । बीमा क्षेत्रमा ग्राहकहरूले प्रतिस्पर्धी प्रोडक्टहरू पाइरहेका छन् । यसले राम्रो गरेको देखिएको छ । यसले त समग्र बीमा उद्योगमा नै राम्रो भएको देखिएको छ । यही हिसाबले नै अझै बीमा कम्पनीहरू अघि बढ्ने देखिएको छ ।
बिमितलाई कम्पनीले बोनस दर कति दिने घोषणा गरेको छ ?
बिमितलाई न्यूनतम २५ देखि ७३ रुपैयाँसम्म बोनस दिने भएका छौं । कुन प्रोडक्ट कति दरको लिने हो त्यही आधारमा बोनस दर निर्धारण हुन्छ । अन्य कम्पनीको तुलनामा हाम्रो नाफाको अवस्था राम्रो छ । त्यसैले हामीले सेयरधनीहरूलाई दिने लाभांश पनि राम्रै हुन्छ । कार्यक्षमता, बजारले कम्पनीलाई गरेको आँकलनले लाभांशमा असर गर्छ । हाम्रो आफ्नो प्लान पनि छ । बजारका हाम्रा अन्य प्रतिस्पर्धीहरूभन्दा हामीले दिने लाभांश राम्रो हुन्छ ।
कम्पनीले कस्ता किसिमका नौला प्रोडक्ट ल्याएको छ ?
बजारमा अहिलेसम्म नआएका प्रोडक्टहरू सिटिजन लाइफले ल्याएको छ । म ग्राहक वर्गमा त्यस्ता युनिक प्रोडक्टहरू किन्नका लागि अनुरोध गर्छु । हाम्रा नौला प्रोडक्टहरूको तपाईंहरू सबैले अध्ययन गर्न सक्नु हुनेछ । तपाईंहरूकै इच्छाअनुसार त्यस्ता प्रोडक्टमा हामीले जोड दिइरहेका छौं ।
अनलाइनबाटै जीवन बीमाको दाबी भुक्तानी दिने व्यवस्था कहिलेदेखि लागू हुनेछ ?
बैंकिङ सिस्टम र अन्य सिस्टमहरू अनलाइनबाटै दाबी भुक्तानीका लागि केही सहज भइसकेका छन् । केही कानुनी कुराले दाबी भुुक्तानी गर्न मिल्दैन । हस्ताक्षर हुनुपर्ने लगायतका कानुनी बाधा अड्चन पनि छन् । नयाँ बीमा ऐन आउँदैछ । त्यहीअनुसार हामीले धेरै कुरा अपग्रेड गर्दैछौं । बैंकहरू अनलाइनमा जान थालिसकेका छन् । हामीले पनि डिजिटल्ली गर्ने काम प्राथमिकतामा राखेका छौं । दाबी भुक्तानीका लागि लगानीकर्ता सिटिजन लाइफ धाउन नपरोस् भन्ने हाम्रो पनि चाहना छ । अब डिजिटल्ली भुक्तानी नै आवश्यकता बन्दै गएको छ । अहिले पनि दाबी भुक्तानी अनलाइन गर्न पनि सम्भव छ । हाम्रा ग्राहकहरू पनि यसका लागि तयार हुनुपर्छ ।
मध्यम आय भएका नागरिक कसरी सिटिजन लाइफमा जोडिन सक्छन् ?
इन्डोमेन्ट प्लस प्रोडक्टमार्फत आर्थिक अवस्था सामान्य रहेका नागरिकहरू पनि हामीसँग जोडिन सक्नुहुन्छ । यो प्रोडक्ट थोरै शुल्क तिरेर नै लिन सकिन्छ । ७१ लाख सहकारी–कर्मीलाई ६ सय रुपैयाँमा १ लाख रुपैयाँसम्मको कभरेज गर्ने उद्देश्यले यो प्रोडक्ट ल्याइएको हो । यो निकै सस्तो छ । सबै नेपालीहरूलाई सुहाउने प्रोडक्ट हो, यो ।
एकल बीमा शुल्कमा बेथिती देखिएका छन्, यो रोक्न के गर्नुपर्ला ?
सजिलो कुरा भनेको बेथिती पत्ता लगाउने र नियामकले त्यसलाई रोक्न आवश्यक निर्देशन दिने हो । बीमा समितिले नयाँ अध्यक्ष पाएको छ । उहाँले बीमा क्षेत्र पारदर्शी बनाई बेथितीहरू रोक्ने भन्नुभएको छ । यो कुराले हामीहरू सबैलाई उत्साहित पनि बनाएको छ ।
जीवन बीमा कम्पनीहरूको समस्याहरू के छन् ?
जीवन बीमा कम्पनीहरूले आफूले चाहेको जनशक्ति पाउँदैनन् । बैंकबाट आएका केही जनशक्ति फेमिलियर हुुनुहुन्छ । हामीले आफूसँग जोडिन आएका जनशक्तिलाई तालिम दिनुपर्छ । हामीले समयमै साधारणसभा गर्न एक्चुरियल रिपोर्ट तयार गर्ने चुनौतीले समस्या सिर्जना गर्छ । समयमा साधारणसभा गर्न सबै बीमा कम्पनीहरूले अप्ठयारो मानेका छन् । अभिकर्तालाई व्यावसायिक बनाउनु पर्नेछ । तालिम दिने र माथिल्लो स्तरमा लानुपर्ने छ । सिटिजन लाइफ भनेको एउटा बलियो बीमा कम्पनीे हो । हामीले बिमितकै हितका लागि जीवन सारथी जस्तो जीवनभरि नै बीमा कभरेज हुने खालको प्रोडक्ट ल्याएका छौं । अन्त कही नभएको यो विशेष प्रोडक्ट हामीकहाँ छ । यो तपाईंहरूकै लागि आवश्यकता छ भनेर ल्याइएको हो । बालबालिकाका, व्यापारीहरूलाई लक्षित विशेष खालका प्रोडक्ट हाम्रोमा छ । अन्य हिसाबले म थोरै प्रिमियम तिरेर बीमा गर्न चाहन्छु भन्नेलाई त्यस्ता किसिमका प्रोडक्टहरू पनि उपलब्ध छन् ।
सोही कारण बीमाको महत्व बुझ्दै बीमाको लाभ उठाउनु हुन म आग्रह गर्न चाहन्छु । अहिले वर्तमान अवस्थामा नेपालमा एक्चुरी हुँदा भारतमा निर्भर हुनुपर्छ । सोही कारण रिपोर्ट हेर्न समय लाग्छ । पहिलेको भन्दा फरक हिसाबले भ्यालुयसन गर्नुपर्ने कुराहरू पनि आएका छन् । त्यसमा कम्पनीहरूले पनि होमवर्क गर्नु पर्ने अवस्था छ । सिटिजन लाइफको कुरा गर्दा २ अर्ब रुपैयाँको हाराहारीमा हाम्रो बीमा कोष छ । हामीले गत वर्षभन्दा १८० प्रतिशतले व्यवसाय पनि वृद्धि गरेका छौं । पहिलो वर्ष ४० करोड, दोस्रो वर्ष १६० करोड र तेस्रो वर्ष १९६ करोड रुपैयाँले हामी व्यवसाय वृद्धि गर्न सफल भयौं । हामीले अन्य किसिमका नौला प्रोडक्टहरू ल्याउन पनि होमवर्क गरिरहेका छौं । अहिले धेरैजसो लगानी बैंकको मुद्दती निक्षेप (एफडी) मा जान्छ । तर, हामीले आफ्नो ८५ प्रतिशतभन्दा बढी लगानी १० वर्षभन्दा माथि र १० प्रतिशतका दरले नै लगानी गरेका छौं । अहिले केही एफडी घट्दा हामीलाई धेरै असर पर्दैन । हाम्रो ५ वर्षे योजनामै यो कुरा पनि समावेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय