
काठमाडौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई छुट्टै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) चलाउन दिने तयारी गरेको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको सेयर किनबेच आदेशलाई नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने टीएमएस स्टक ब्रोकर कम्पनीलाई सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको बताएका छन ।
अनलाइन सेयर कारोबार गर्ने लगानीकर्तालाई ध्यानमा राखेर नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न सक्नेछन । अहिले स्टक ब्रोकरले नेप्सेले विकास गरेको टीएमएस प्रयोग गर्दै आएका छन ।
यो प्रक्रिया धेरै पहिले नै सुरु गरिएपनि सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको आरोपमा तत्कालिन बोर्ड अध्यक्ष निलम्वनमा र नेप्सेको सिइओले राजीनामा दिएको कारण उक्त प्रक्रिया अघि बढ्न सकेको थिएन । सेयर बजारको मूख्य नियामक निकाय नेतृत्वविहीन भएपछि ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने योजना पनि ओझेलमा परेको थियो ।
नयाँ नेत्रृत्वसंगै स्टक ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढाइएको हो । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचना प्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाइसकेको छ ।