२०८१ मंसिर २२ शनिबार

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बसद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताउनु भयो ।

गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ ।

त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताउनु भयो ।

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ ।

विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताउनु भयो । विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उहाँको भनाई छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताउनु भयो । उहाँले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताउनु भयो ।

विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताउनु भयो ।

त्यस्तै,महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताउनु भयो ।

विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उहाँको भनाई छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायीक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताउनु भयो ।

अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताउनु भयो । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको बताउनु भयो । विद्यमान कानून नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय